सूचनाको शक्ति - The Power Of Information

        

सहन्यायधिवक्ता चढ्ने गाडीमा बिहेको जन्ती ! (हेर्नुस् भिडियोमा)

न्यायपालिकामै सरकारी गाडी दुरूपयोग

बाँके । सरकारी निकायका गाडीको दुरुपयोग वर्षौंदेखि हुँदै आएको छ । अझ नीति बनाउने र त्यसलाई कार्यान्वयन गराउने भूमिकामा रहेका उपल्लो तहका पदाधिकारी तथा कर्मचारीबाटै सरकारी गाडी चरम दुरुपयोग हुने गरेको छ । खरिद, मर्मत र सञ्चालन खर्च बढाउने भएकाले सरकारी सम्पत्ति दुरुपयोग राज्य कोषमाथि दोहन हो ।
दुरुपयोग नियन्त्रण गर्न सरकारले तदारुकता नदेखाउनु भने विडम्बनापूर्ण छ । राजनीतिक दलका नेता, मन्त्री, सरकारका सचिव तथा विभिन्न पदाधिकारीले सरकारी गाडी आवश्यकताभन्दा बढी प्रयोग गरिरहेको भेटिएको छ । खासगरी सरकारी निकायमा गाडी प्रयोगका विषयमा नीति नभएकैले दुरुपयोग बढेको देखिएको छ ।
यसरी समय–समयमा सरकारी गाडीको दुरुपयोग भइरहेका समाचार आइरहेका बेला बुधबार नेपालगन्जमा एक उच्च सरकारी अधिकारीले सरकारी गाडीको दुरुपयोग गरेको फेला परेको छ । नेपालगन्ज उच्च अदालतका निमित्त सहन्यायधिबक्ता दमनराज विष्ट चढ्ने सरकारी गाडीमा एउटा विवाहको जन्ती सवार भएको अवस्थामा फेला परेको हो । बा २ झ २७४२ नं सेतो रंगको फोर्ड कम्पनीको गाडी विवाहमा प्रयोग भएको पाइएको हो ।
यसै विषयमा जानकारी लिनका लागि निमित्त सहन्यायधिबक्ता विष्टलाई फोन सम्पर्क गर्दा उनले गाडी विवाहमा गएको स्वीकार गरेका छन् । तर, सरकारी गाडीको दुरुपयोग नहोस भन्नेमा आफु सचेत रहेको उनको भनाई छ । उक्त गाडीमा विवाहमा सहभागी हुन काठमाडौंबाट आएका सहन्यायधिवक्ता रमा पराजुली चढेको विष्टले बताएका छन् । तर, जन्तीहरु गाडीभित्र बसालिरहेको फोटो र भिडियो क्यामरामा कैद भएको छ ।
निमित्त सहन्यायधिबक्ता विष्टले सहन्यायधिवक्ता पराजुलीलाई धम्वोझीवाट काठमाडौ जानका लागी राँझा पु¥याइएको जिकिर गर्दै आएका छन् । तर, यसरी आफन्तको विवाहमा सरकारी गाडीको प्रयोग गर्न आचरणविपरित र सरकारी सम्पत्तिको दुरुपयोग भएके बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल बताउँछन् । दुलाह दुलही चढेको सिंगारीएको विवाहको कालो रङको गाडी अघिअघि र पछिपछि विष्टको सरकारी सेतो रंगको गाडी जन्ती बोकेर गएको थियो ।


न्यायपालिकको गाडी भएकाले जिल्ला प्रशाशन कार्यालय बाँकेको क्षेत्राधिकारभित्र नपर्ने र कारवाही गर्न नसकिने प्रमुख जिल्ला अधिकारी भुजेलले बताए । अरूलाई कानूनको पाठ सिकाउने न्यायलयका अधिकारीले नै सरकारी कानून र नियमको उल्लंघन गर्दै यसरी विहेमा समेत सरकारी सवारी साधनको प्रयोग गर्नुलाई नागरिकले चासोका साथ हेरेका छन् । सरकारी सवारीसाधन न्यायलयकै सहन्याधिवक्ताले दुरूपयोग गरेपछि नियमनकारी निकाय जिल्ला प्रशासन पनि उदासिन रहेको छ ।
महत्वपूर्ण कुरा त पदाधिकारी तथा कर्मचारी आफैं सरकारी सम्पत्ति सदुपयोगमा सजग र जिम्मेवार हुनु हो । सार्वजनिक बिदाका दिनमा समेत सरकारी कर्मचारीले सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा समेत प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न पनि पाइन्छ । तर, बाँकेका अधिकांश सरकारी गाडी विदाको दिन पनि नियमनकारी निकायको अनुमति बीनै आफूखुशी सञ्चालन हुँदै आईरहेका छन् ।
सरकारी गाडीको दुरूपयोग रोक्न यसअघि सरकार मातहतको एक समितिले सरकारी कार्यालय र मन्त्रालयसँग गाडीको विवरण मागेको थियो । अहिले पनिब ाँकेका सरकारी कार्यालयमा करोडौंका गाडी प्रयोग भइरहेका छन् । तर, कुनै मापदण्ड छैन । विभिन्न योजना र परियोजनाका नाममा राजस्व छूटमा निकालिएका गाडी सरकारी कार्यालयले सकार्ने र पछि थोत्रो भएपछि कसैले नबनाउने प्रवृत्ति अहिले पनि हाबी छ ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार १९:२९