बाँके । नेपालगन्जको पुरानो मध्येको एक घरबारी टोलको सडक बिस्तार कार्य अन्यौलमा रहेको छ । एशियाली विकास बैंकको ऋण/अनुदान सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले धम्बोझी चोकदेखि त्रिवेणी मोड सम्मको घरबारीटोल सडकलाई बिस्तार गर्ने योजना अगाडी सारेको थियो । तर, घरधनीले सडकभित्र परेका संरचना हटाउन नमान्दा सडक विस्तार कार्य अन्यौलमा परेको हो ।
करिव १५० वर्षअघि निर्मित अब्यवस्थित भौतिक संरचनाका कारण घरबारीटोलको सडक बिस्तार गर्न कठिनाई भएको उपमहानगरपालिकाले जनाएको छ । उक्त सडकको चौडाई हाल ४ देखी ६ मिटरसम्म रहेको छ । उपमहानगरपालिकाले अब बन्ने सडकको चौडाई १० मिटर पुर्याउने योजना अगाडी बढाएपछि केही घरधनी बिस्थापित नै हुने संकेत देखिएको छ ।
सडक बिस्तार गर्दा प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, हनुमान मन्दिर र काली मन्दिर तथा निकै कम क्षेत्रफलमा बसोबास गर्ने परिवार नै बिस्थापित हुने खतरा देखिएको भन्दै केही स्थानीयले असहमति जनाएका छन् । उपमहानगरपालिकाले भने सडक बिस्तार हुँदा कोही पनि घर, परिवार बिस्थापित हुनु नपर्ने जिकिर गर्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ वडा कार्यालयले घरबारी टोल बिस्तारका लागि घरदैलो कार्यक्रम नै गरेर २०७५ साउन २० गते पर्चा वितरण गरेको थियो ।
त्यसपछि पुनः मंसिर दोस्रो साता उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणासहितको उपस्थितीमा घरबारीटोलमा दवाव मुलक र्याली प्रर्दशन गरियो । अहिले केही घरधनीले आफ्ना भौतिक संरचना बिस्तारै हटाउन थालेका छन् भने केहीले हटाउन अटेरी गरिरहेका छन् । स्थानीय ब्यवसायी धर्मराज अर्याल घरबारीटोलको विकासका लागि कोही पनि बाधक बन्न नहुने बताउँछन् । ‘यहाँका सबै ब्यवसायीले विकास चाहेका छन्,’ उनले भने, ‘विकासका लागि सबैले निकास दिनुपर्छ ।’
उपमहानगरपालिकाले सडक क्षेत्र खाली गरिदिन भनि पटक–पटक अनुरोध गरिरहेको अर्यालले बताए । सडक बिस्तार नहुँदा नाला निर्माण हुन नसकेको र बर्षेनी बर्खायामको समयमा घरबारीटोल बजार डुब्ने गरेको उनले स्मरण गरे । ‘सडक बिस्तार भएपछि राम्रो नाला बन्छ, नाला बनेपछि डुबान समस्या हुदैन र फोहोरमैलाको समस्या पनि अन्त्य हुन्छ ।’ तर, घरबारीटोलकै केही घरधनीले विकासका नाममा उपमहानगरपालिकाले विनाश गर्न खोजेको आरोप लगाएका छन् ।
उपमहानगरपालिकाले जनविरोधी कार्य गर्न खोज्दा घरबारीटोलका धरोहरलाई क्षति तथा कतिपय परिवार नै सुकुम्वासी हुने पक्का भएको असन्तुष्ट समुहले बताएका छन् । वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमालले सडक विस्तार भएपछि घरबारीटोलको मुहार फेरिने भए पनि कतिपयको गलत बुझाईका कारण समस्या भएको बताए । घरधनीले संरचना हटाउन नमान्दा काम अगाडी बढाउन नसकिएको उनको भनाई छ ।
।