सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य परीक्षणमा मनपरी शुल्क

बाँके । नेपालगन्जमा रहेका अधिकांश स्वास्थ्य क्लिनिक संस्थाले स्वास्थ्य जाँच र रोग निदानका लागि प्रयोगशाला परीक्षण गर्दा मापदण्ड विपरित तेब्बर रकम असुल्दै आएको खुलेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ब्लड कल्चर रु.१२५, युरिन जाँच रु.२५ मा हुने गरे पनि यहाँका नीजि स्वास्थ्य संस्थाले यसमै तेब्बर रूपैयाँ सेवाग्राहीबाट असुल्दै आएका छन् ।
एचआइभी जाँचका लागि रु.१५० लिनुपर्नेमा रु.५०० लिदै आएको सेवाग्राहीको गुनासो छ । थाइराइड जाँच गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रु.५०० शुल्क लाग्ने गरेकोमा नेपालगन्जका निजी स्वास्थ्य संस्थाले रु.१ हजार ५०० लिदै आएका छन् । जनस्वास्थ्य प्रयोगशालाले २८० भन्दा बढी विभिन्न रोगको जाँचका लागि शुल्क निर्धारण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामबहादुर चन्द बताउँछन् ।
तर, नीजि क्लिनिकले मनपरी शुल्क लिदां पनि कार्यालयले त्यसको अनुगमन गर्न नसकेको सेवाग्राहीको गुनासो रहेको छ । निजी क्लिनीकमा स्वास्थ्य परीक्षणका लागि जाने सरकारी डाक्टरले कमिशन खोज्ने गरेकोले आफूहरूले महँगो रकम सेवाग्राहीबाट लिनुपरेको एक क्लिनक सञ्चालकले नाम नछाप्ने शर्तमा बताए ।
सरकारी डाक्टरलाई निजी क्लिनिकमा काम गर्ने प्रावधान छैन । उनले भने, ‘सरकारी कामभन्दा यतै कमाई देखिएर आउँछन त के गर्ने ? हामीलाई डाक्टर चाहिएको हुन्छ डाक्टरलाई पैसा !’ उनले हाँस्दै भने, ‘यस्तै छ हजुर यहाँको चलन । हामीलाई पनि फाइदा डाक्टरलाई पनि फाइदा ।’ चिकित्सक र प्रयोगशालाबीच कमिसनको जालो नतोडेसम्म समस्या समाधान हुन नसक्ने औषधि व्यवसायी संघ जिल्ला अध्यक्ष अभय बस्नेत बताउँछन् ।
नेपालगन्जमा यस्ता संस्था र चिकित्सकले सेवा दिने नाममा बिरामीलाई लुटेको उनको आरोप छ । जिल्लामा सरकारी तथा निजी गरी १७ अस्पताल छन् । पोलिक्लिनिक १२, प्याथोलोजी तथा डाइग्नोस्टिक ४०, स्वास्थ्य क्लिनिक ५७, एक्सरे ६, भिडियो एक्सरे ५, आँखा अस्पताल ३, दाँत क्लिनिक ११, फिजियो केयर २ गरी १५३ स्वास्थ्य केन्द्र छन । अधिकांश ठूला अस्पातलका आफ्नै ल्याब, एक्सरे सेवा सञ्चालनमा छन् । यी ल्याबमै किमशनको खेल हुने गरेको चिकित्सक नै बताउँछन् । निजी तथा सरकारी अस्पताल र ल्याबहरूमा स्वास्थ्य जाँच शुल्कमा एकरूपता नरहेको निमित्त प्रमुख चन्द नै स्वीकार गर्छन् ।
प्रयोगशालाले लिनेभन्दा तीन/चार गुणाबढी शुल्क लिने गरेको जनगुनासो स्वास्थ्यमा पनि आएको उनले जानकारी दिए । ‘सरकारले तोकेभन्दा केही बढी रकम निजीले लिन सक्छन् । तर, एकरूपता हुनुपर्छ,’ उनले भने, ‘स्वास्थ्य जाँच शुल्कमा एकरूपता ल्याउन लागिएको छ ।’ जिल्ला जनस्वास्थ्य र जिल्ला प्रशासनको उदासिनता र नियमित अनुगमनको अभावमा नेपालगन्जका निजी तथा सरकारी स्वास्थ्य संस्थामा सेवाका नाममा कमिशन र चर्को मुल्यको हावी भएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतवार १७:२७