विवादस्पद चर्चकी प्रमुख हक जा हन मुन प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार प्रदान गर्ने समयमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद चर्च युनिफिकेसनकी प्रमुख हक जा हन मुनलाई आफैँले निमन्त्रणा गरेको खुलेको छ । २०१८ अगस्ट २० को मितिमा ओलीले हानलाई एशिया प्यासिफिक समिटका लागि काठमाडौं आउन आग्रह गर्दै औपचारिक पत्र पठाएको विवरण नेपालखबरलाई प्राप्त भएको हो ।
नेकपा बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा रहेको एशिया प्यासिफिक समिट निमन्त्रणा समितिले विदेशी पाहुनालाई निम्ताको निर्णय गरेको थियो । चर्चकी प्रमुख हक जा हन मुनलाई भने प्रधानमन्त्री ओलीकै हस्ताक्षर भएको निम्तो पठाइएको थियो । ‘मेरी श्रीमती राधिका र म तपाइँलाई नेपालमा निजी रुपमा स्वागत गर्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीले पठाएको पत्रमा भनिएको छ ।
निम्तो पत्रमा एशिया प्यासिफिक समिटको उद्देश्य राष्ट्रसंघीय दीगो विकास लक्ष्य पूरा गर्न विवाह र परिवारलाई सशक्तिकरण गर्नु रहेको उल्लेख छ । आफूलाई जिसिस पुत्री दाबी गर्ने हानले प्रधानमन्त्री ओली, उनकी पत्नी राधिकासहित स्थानीय तहका मेयर, उपमेयर तथा प्रमुख उपप्रमुखसहित १५ सय विशिष्ट जोडीलाई पवित्र रक्सी (होली वाइन) पिलाएर आर्शीवाद दिने योजना थियो । त्यही विषयलाई प्रधानमन्त्रीको पत्रले राष्ट्रसंघीय दीगो विकास लक्ष्य २०३० सँग जोड्ने काम गरेको हो ।
चर्चका संस्थापक सन म्युङ मूनले सन् २०१२ मा निधन हुनुअघि चर्चका यस किसिमका कार्यक्रममा पवित्र रक्सी छर्किने परम्परा बसाएका थिए । त्यस्तो रक्सीमा उनको शुक्रकिट मिसाइने गरेको विवाद छ । सन् २०१२ मा सन म्युङ मूनको निधनपछि श्रीमती तथा छोराहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका छन् ।
डिसेम्बर १ देखि ३ सम्म सञ्चालन भएको समिटमा श्रीमती मुनले सहभागिता जनाएकी थिइन् । उनको हातबाट ओलीले १ लाख डलरको पुरस्कार थापे । पवित्र रक्सीसहितको आशीर्वाद लिएनन् । राष्ट्रसंघको दीगो विकास लक्ष्य हाँसिलको उद्देश्य राखिएको यस्तो आशीर्वाद केही जोडीले भने लिएका थिए ।
प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेको पत्र
सत्यपाटी - ।