सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले गत साउनमा करार सेवामा पदपूर्ति गर्ने सम्वन्धी सूचना प्रकाशित गर्याे । गाउँपालिकाद्वारा साउन १४ गते प्रथम पटक प्रकाशित गरिएको पदपूर्ति सम्बन्धीको सूचनामा १२ कर्मचारी माग गरिएको थियो ।
आवश्यक कर्मचारीमा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई केन्द्र र स्वास्थ्य चौकीतर्फ बाँखर्क र बइचपानीका लागि सहायक चौथो तह अन्तरगत अनमी (दुई), बाँखर्क, दुरपाला र बइचपानीका लागि सहायक चौथो तह अन्तरगत अहेव (तीन), राकम स्वास्थ्य चौकीका लागि सहायक चौथो तह अन्तरगत ल्याव असिस्टेन्ट (एक), बाँखर्क, दुरपाला र बइचपानीका लागि कार्यालय सहयोगी (तीन) माग गरिएको थियो ।
यसैगरी, बर्थिङ सेन्टरतर्फ आग्रीगाउँ स्वास्थ्य चौकीका लागि सहायक चौथो तह अन्तरगत अनमी (एक) खोजिएको थियो । एक गाउँ एक जेटीए कार्यक्रमतर्फ सिम्ता गाउँपालिकाका लागि सहायक चौथो तह अन्तरगत कृषि प्राविधिक (एक) र सहायक चौथो तह अन्तरगत पशु प्राविधिक (एक) आवश्यक रहेको सूचनामा उल्लेख गरिएको थियो । सूचनामा जानकारी दिएअनुसार उक्त पदहरुका लागि दरखास्त दिने अन्तिम मिति साउन २८ गतेसम्मका लागि तोकिएको थियो ।
परीक्षा हुने समय तालिका दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट जानकारी दिइने सूचनामा उल्लेख गरिएको थियो । गाउँपालिकाले करार पदपूर्तिका लागि आएका आवेदनहरुलाई समयमा नै परीक्षा लिन सकेन । कार्तिक १४ गते बसेको परीक्षा छनौट समितिको निर्णय अनुसार १६ गते सूचना प्रकाशित गर्दै सिम्ता गाउँपालिकाको कार्यालयले ७७ जना आवेदकहरु समावेश भएको सर्ट लिष्ट प्रकाशन गर्याे । सर्ट लिष्टमा समावेश भएका आवेदकहरुका लागि कार्तिक २९ गते परीक्षा मिति तोकियो ।
सर्ट लिष्ट प्रकाशन गरेको दुई दिनपछि १८ गते अर्को सूचना जारी गर्दै गाउँपालिकाले भूलवश सर्टलिष्टमा अनमी पदमा कविता शाहीको नाम समावेश भएकोले हटाइएको जानकारी दियो । फेरी अर्को सर्टलिष्ट प्रकाशित गरियो, जसमा अनमी पदमा कविता शाहीको नाम हटाइएको थियो र कृषि प्राविधिकमा रक्षा बस्नेतको नाम थपिएर आयो । सर्टलिष्ट प्रकाशन गर्दा नाम थपेर आउँदा गाउँपालिका शंकाको घेरामा तानिएको छ ।
गाउँपालिकाले सर्ट लिष्टमा नाम थपेर प्रकाशित गर्दा सिम्ता गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिंह आक्रोशित भएपछि गाउँपालिकाको कर्मचारी पदपूर्ति विवाद बाहिरी सतहमा आएको हो । पदपूर्ति विवादमा तानिएपछि कार्तिक २९ गते तोकिएको परीक्षा २७ गते सूचना टाँस गर्दै परीक्षा स्थगित गरी मंसीर १३ र १४ गतेका लागि अन्तर्वार्ताको मिति तोकियो । अन्तर्वार्ता हुन नपाउँदै मंसीर १३ गते गाउँपालिकाका वडाध्यक्ष सिंहले सिम्ता गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरे ।
‘पुनः प्रकाशन भएको सर्ट लिष्टमा नाम थपिएर आउँदा असन्तुष्टी जनाएको हुँ,’ सिंहले भने, ‘एकपटक सर्टलिष्ट प्रकाशित भएपछि पुनः प्रकाशित गर्दा नाम कसरी परिवर्तन भयो ? अन्तर्वार्ता मितिलाई पटक पटक सारियो । फेरी नामै थपिएर आउदा तालाबन्दी गरेको हुँ ।’उनले लगाएको ताला प्रहरीले केही समयपछि खोलेको थियो । गाउँपालिकाको दैनिक कामकाज सुचारु भएपनि कर्मचारी पदपूर्तिका लागि लिइने भनिएको परीक्षा भने सञ्चालन भएन । सूचना प्रकाशित भएको मितिदेखि चार महिना बित्दा पनि गाउँपालिकाले पदपूर्तिका लागि सर्ट लिष्टमा परेकाहरुको अहिलेसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन ।
गाउँपालिकाले यतिसम्म लापरवाही गरेको छ कि सर्टलिष्टमा अनमी पदमा कविता शाही दोहोरो पदमा देखिएकी छिन् । उनको नाम अनमीतर्फ पनि छ । तर, शाही जेटीए हुन् । खास विवाद रक्षा बस्नेतको नामले निम्त्याएको हो । उनको सर्टलिष्ट जारी गर्दा नाम थिएन । फेरी अर्को सर्टलिष्ट जारी गर्दा एकाएक उनको नाम थपियो । एकपटक सर्टलिष्ट जारी भइसकेपछि पुनः नाम थपिनु आश्चार्यचकित परेको स्थानीयले बताए । वडाध्यक्ष सिंहले पहिलो सर्ट लिष्ट अनुरुप नै परीक्षा लिनुपर्ने बताए । ‘कानूनसम्मत हुँदैन भने गाउँपालिकाले सरासर गलत गरेको छ,’ उनले थपे ।
यता, गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले ‘योग्यता हुँदाहुँदै पनि रक्षा बस्नेतको नाम भुलवस छुटेकोले सर्टलिष्ट पुनः प्रकाशन गरि थपिएको’ बताए । ‘अध्यक्षले यस्तो भन्नु कति जायज होला । सर्टलिष्ट जारी गरिसकेपछि पुनः नाम थपिनु कतिसम्म कानून सम्मत होला ? कुरा यहीँ नेर विचारणीय छ,’ वडाध्यक्ष सिंहले भने । उनले कर्मचारी पदपूर्ति सम्वन्धमा आफ्नो असहमती रहेको बताउँदै आएका छन् । सर्टलिष्ट जारी गर्नुअघि आवेदकको कागजात अध्ययन नगरी अन्धाधुन्ध रूपमा सर्टलिष्ट जारी गरेको उनको आरोप छ ।
सत्यपाटी - ।