सूचनाको शक्ति - The Power Of Information

        

युवालाई खुशी बनाउन वडाध्यक्षको काइदा : वडाको बजेटले क्यारमबोर्ड खरिद !

बाँके । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने गरिन्छ । तर बाँकेको एक स्थानीय तहले भने क्यारमबोर्ड खरिद नै गरेर युवाहरुलाई बाँडेको छ ।
एकलाख रुपैयाँ बजेट नै छुट्टाइएर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ ले क्यारमबोर्ड खरिद गरी युवाहरुलाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भनेका छन् । वडाध्यक्ष उज्जवलसिंह राठौंरले हालसम्म चारवटा टोलमा क्यारमबोर्ड वितरण गरिएको बताए ।
एकजना वडा सदस्यले युवाहरुलाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको भन्दै वडाध्यक्षको आलोचनासमेत गरेका छन् । नाम नबताउने शर्तमा उनले भने, ‘वडामा छलफल नै नगरेर बजेटको दुरुपयोग भएको छ । क्यारमबोर्ड खरिद गरेका बील भर्पाई पास गर्न दिदैनौं ।’ क्यारमबोर्ड खेलमा ठूलो जुवासमेत हुने गरेको भन्दै प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ ।
‘सरकारकै लागि गलत पद्दती स्थापित हुन्छ,’ अधिकारकर्मी प्रकाश उपाध्यायले भने, ‘वडाको बजेटबाट क्यारमबोर्ड खरिद गरी वितरण गर्नु जायज होइन ।’ वडाको बजेटबाट नयाँ क्यारमबोर्ड पाएपछि क्यारम खेल्ने युवाहरु खुशी भए पनि अधिकांश नागरिकहरुले सरकारी बजेटको दुरुपयोग भएका दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतवार १८:३८