सूचनाको शक्ति - The Power Of Information

        

निर्मलाका पोस्टर गाडी, ल्यापटप र किताबमा 

काठमाडौं । मंसिर १० गते राजधानीका बिजुलीका पोल पोलमा टाँसियो, प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहितको पोस्टर । जसमा लेखिएको थियो, नयाँ युगको सुरूवात । अर्कोदिन काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा सोही पोस्टर ज्याकेट एड बनेर छापियो । भित्रपट्टी श्रममन्त्री गोकर्ण बिष्टको तस्बिरसँगै सामाजिक सुरक्षा कार्यक्रमबारे लेखिएको थियो ।
सामाजिक सञ्जालमा व्यर्थैमा लाखौं रूपैयाँ खर्च गरेको भन्दै आलोचना भयो । मंगलबार सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आलोचकलाई जवाफ दिए, सरकार देखेनौं, सुनेनौं, कहाँ छ भन्नेहरूलाई देखाउन यो तामझाम गरिएको हो । आउने कार्यक्रमहरू सरकारले नौमती बजाएर शुभारम्भ गर्छ । त्यहीँ साँझ सामाजिक सञ्जालमा एउटा अर्को पोस्टर सार्वजनिक भयो, जसमा लेखिएको थियो, सरकार भेटियो, न्याय भेटिएन ।
दण्डहिनता ह्यासट्याग भएको उक्त पोस्टरमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको फोटो थियो । बलात्कारपछि निर्मलाको हत्या गर्नेलाई पक्राउ गर्नु पर्ने माग राख्दै विभिन्न कार्यक्रम गरिरहेका ‘निर्मलाका निम्ति न्याय’का अभियन्ताले शुक्रबार यही पोस्टर राजधानीका पोल र भित्तामा टाँस्न खोजे । ‘सामाजिक सञ्जालमा प्रधानमन्त्रीको पोस्टरको विरोध भयो र निर्मलाको पोस्टर पनि शक्तिशाली विम्व बन्यो,’ अभियन्ता हिमा बिष्टले भनिन्, ‘हामीले पोस्टर बनायौं । साथीहरूले टाँस्न थाल्नुभयो । तर प्रहरीले पोस्टर टाँस्नेलाई पक्रियो । टाँसेका पनि च्यातिदियो ।’
काठमाडौंमा मात्र होइन प्रहरीले शनिबार पोखरामा टाँसिएका पोस्टर पनि च्यातेर फाल्यो । पोस्टर नटाँस्न उर्दी जारी गर्यो । ‘प्रधानमन्त्रीको पोस्टर पनि कसैले न कसैले त पोलमा टाँसेको हो, प्रधानमन्त्रीको पोस्टर टाँस्न मिल्ने, निर्मलाको पोस्टर टाँस्न किन नमिल्ने ?,’ बिष्टले भनिन् । सरकारसँग पौंठेजोरी खोज्ने ताकत अभियन्ता हुने भएन । त्यही भएर उनीहरूले पोस्टर टाँस्ने नयाँ उपाय सोचेका छन् ।
‘यो अभियानमा निर्मलाको पोस्टर सबैभन्दा शक्तिशाली विम्व बनिसकेको छ, तर सरकारले टाँस्न नदिने भएपछि हामीले अलिकति क्रियटिभ भएर सोच्यौं, गाडी, ल्यापटप र झोलामा टाँस्न मिल्ने स्टिकर बनाउने,’ बिष्टले भनिन्, ‘साथीहरूले पैसा उठाएर पोस्टर र स्टिकर छाप्दै छौं, सोमबार बिहानसम्म सबैलाई बाँड्छौं ।’ उनले उपत्यका बाहिरबाट पनि पोस्टरको डिजाइन माग भइरहेकाले बाहिरकाले आफैंले छापेर बाँड्ने बताइन् ।

 

#सेतोपाटी

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतवार १४:५२