सूचनाको शक्ति - The Power Of Information

        

डिजिटल अभ्यासमै छैनन् स्थानीय तह

बाँके । कोहलपुर नगरपालिका बाहेकका बाँकेका सातवटा स्थानीय तह अझै डिजिटल अभ्यासमा अघि बढ्न सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधीकै उदासिनताले ‘डिजिटल नेपाल’ बाँकेमा नारामा मात्रै सीमित भएको देखिएको छ ।
कटुवा गतिमै भएपनि कोहलपुर नगरपालिका डिजिटल प्रविधिको अभ्यासमा जुटेको छ । मोबाइल एपबाट आफ्नो तहको सूचना तथा गतिविधि आमनागरिकसम्म पु¥याउन कोहलपुर नगरपालिका सक्रिय छ । तर, नेपालगन्ज उपमहानगरपालिकासहितका सातवटा स्थानीय निकाय भने यस बिषयमा उदासिन छन् ।
सूचना प्रविधि विभागले स्थानीय तहलाई डिजिटल प्रणालीमा लैजान सहयोग गरिरहेको छ । सबै स्थानीय तहका लागि प्रयोग हुने गरी एउटै मापदण्डमा मोबाइल एप तयार पारिएको छ ।तर, लागू गर्न धेरैले सकेका छैनन् ।
सबै स्थानीय तहका वेबसाइटको सर्भर राष्ट्रिय सूचना प्रविधि केन्द्रको डाटा सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ । इन्टरनेट नपुगेका तहले पनि इन्टरनेट भएको ठाउँमा सूचना पठाएर वेबसाइट तथा मोबाइल एप अपडेट गर्न सक्ने सूचना प्रविधी विभागले बताएको छ ।
मोबाइल एप नबनाएका स्थानीय तहले विभागमा पत्राचार गरी निःशुल्क बनाउन सक्ने भएपनि बाँकेका सातवटा स्थानीय तहले अहिले पनि एप बनाउँने बिषयमा ध्यान दिन नसकेको बुझिएको छ । दुर्गममा इन्टरनेटको समस्या हुने भएका कारण मोबाईल एप सञ्चालनमा अप्ठारो भईरहेको छ ।
स्थानीय तहका एपहरुको प्रभावकारिता स्थानीय स्तरमा भन्दा पनि बाहिर बसोबास गर्ने सो क्षेत्रका मानिस बढी देखिन्छ । एपमार्फत् बाहिर रहेका स्थानीयले गाउँपालिकाको काम कारवाही र सेवा सुविधाका बारेमा गुनासो तथा सुझावहरु पठाउने गरेका छन् ।
गाउँमा बस्ने मानिसहरुमा प्राविधक ज्ञानको कमी र स्रोत साधनको अभावका कारण गाउँमा रहेका भन्दा अध्ययन र रोजगारका लागि देशका अन्य स्थान र विदेशमा रहेकाहरुले बढी प्रयोग गर्ने गरेको कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी थारूले बताइन् ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतवार ०७:५०