सूचनाको शक्ति - The Power Of Information

        

दुध उत्पादक किसान समस्यामा, नेपाली दुध भारतीय बजारमा खपत गर्न बाध्य

फाइल तस्वीर

बाँके । बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकामा व्यवस्थित दुध संकलन केन्द्र नहुँदा दुध उत्पादक किसानहरू समस्यामा पर्दै आएका छन् । उचित बिक्री केन्द्रको अभावमा सो क्षेत्रका कृषकहरूले उत्पादन गरेको दूध बिक्री गर्न समस्या भएको छ । संकलन तथा बिक्री केन्द्रकै प्रभावकारी र व्यवस्थित नहुँदा उनीहरूको लगानी समेत डुब्ने अवस्थामा पुग्दा किसानहरू चिन्तित छन् ।
यातायात, शिक्षा तथा स्वास्थ्यबाट समेत पछि परेका यी गाउँपालिकामा लगानी अनुसार नाफा नहुनु र सम्बन्धित क्षत्रले किसानको समस्या नबुझ्नुले किसानहरू पशुपालन व्यवसायबाटै पलायन हुने अवस्था आएको देखिएको छ । बाँकेको गंगापुर, फत्तेपुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँया, बैजापुर र बिनौना गाविस सदरमुकामदेखि टाढा रहेको र सो क्षेत्रमा उपयुक्त दूध संकलन, प्रशोधन र बिक्री केन्द्र नरहेकाले त्यहाँका ७० प्रतिशत किसानले पशुपालनबाट हुने आम्दानी आर्जन गर्न सकेका छैनन् ।
मजदुरी र पशुपालन नै जीविकोपार्जनको मुख्य आधार भए पनि पशुपालनबाट उत्पादन हुने दूध, दही र अन्य परिकारको बिक्रीवितरण गर्ने ठाउँ नभएपछि गुजारा चलाउन समस्या परेको मटेहियाका कृषक महाजन यादवले बताए । कडा परिश्रम गरी भैंसी पालेको भए पनि दूध बिक्री गर्ने बजार नपाएर श्रम खेर गइरहेको यादवको भनाइ छ । नेपालगन्जमा ३५ देखि ४० रुपैयाँ प्रतिलिटर बिक्री हुने दूध मटेहियामा भने १८ देखि २० रुपैयाँ प्रतिलिटर मात्र बिक्री गर्नुपर्ने बाध्यता रहेको यादवले बताए ।
यस क्षेत्रका स्थानीय गाउँपालिकामा दुध संकलन केन्द्र र नजिकै उचित बजार नभएका कारण भारतको ककरदरीमा लगेर १०–११ भारतीय रुपैयाँमा दूध बेच्न बाध्य भएको यादवले जानकारी दिए । नजिकमा डेरी नभएका कारण भारतीय बजारमा लैजानुपर्ने बाध्यता यहाँका किसानको रहेको छ । राप्तीपारिका किसानले रहरले नभई बाध्यता र मजबुरीले भारतीय बजारसम्म दूध बेच्दै आएको फत्तेपुरका किसान दुर्गापति चौधरी बताउँछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार १२:४२