सूचनाको शक्ति - The Power Of Information

        

विजुलीका पोलमा निर्मलाको पोस्टर टाँस्दै लेखियो, ‘सरकार भेटियो, न्याय भेटिएन’

काठमाडौं । राजधानीको सडकमा रहेका विजुलीको पोलमा निर्मला पन्तलाई न्यायको माग गर्दै पोस्टरहरू टाँसिएका छन् । प्रधानमन्त्री केपी ओलीको पोस्टर झुण्ड्याइएकै पोल तथा भित्ताहरूमा निर्मला पन्तलाई न्याय माग गरेर पोस्टर टाँसिएको हो ।
बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाले हत्या भएको चार महिना पुग्न लाग्दा पनि न्याय पाएकी छैनन् । सरकारले अहिलेसम्म बलात्कार तथा हत्यामा संलग्नको खोजी गर्न सकेको छैन । न्यायको माग गर्दै अनशनमा बसेका निर्मलाका बुवा यज्ञराज पन्त स्वास्थ्य असामान्य बनेपछि अहिले त्रिवि अस्पतालमा उपचाररत छन् ।
निर्मलाको न्यायका लागि देशभरि आन्दोलन भैरहेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजनाको थालनीका लागि तयार पार्न लगाएको आफ्नो पोस्टर जस्तै निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनाएको छ । पोस्टरमा निर्मला शान्त देखिएकी छन् । उनको तस्बिरकै आडमा पहेँलो रंगको गोलाकार छ ।
त्यसमा लेखिएको छ, ‘सरकार भेटियो, न्याय भेटिएन ।’ पोस्टर सायद दिनमा टाँस्न पाएनन्, न्यायका लागि आवाज उठाउनेहरूले रातिमा पनि उज्यालो भएर देखिने बिलबोर्ड पनि पाएनन् निर्मलाको पोस्टका लागि । ओलीका पोस्टर रहेका पोलको तलपट्टि निर्मलाको पोस्टर टाँसिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १२:४५