सूचनाको शक्ति - The Power Of Information

        

माछा उत्पादनको पकेट क्षेत्र बन्दै बढैयाताल

नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रको रूपमा चिनिँदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरूपमा तरकारी खेती पनि हुँदै आएको छ । गाउँपालिकाका करीब ८५ प्रतिशत स्थानीय कृषि पेशामा आबद्ध छन् ।
यस वर्ष गाउँपालिकाले कृषि क्षेत्रका लागि रु ६० लाख बजेट विनियोजन गरेपछि माछा उत्पादनका साथै अन्य बाली उत्पादन बढ्ने विश्वास गरिएको छ । गाउँपालिकाको मैनापोखर, भोलागौढी र सितलाबजार बजार क्षेत्र हो भने अन्य सबै क्षेत्रका स्थानीय कृषि पेशामा आबद्ध छन् । करिब पचासी प्रतिशत स्थानीय कृषिमा आश्रित गाउँपालिकाको आठ हजार हेक्टरमा खेती हुँदै आएको छ ।
वडाका स्थानीय कृषिमा आश्रित भएकाले कृषि उत्पादनलाई जोड दिइरहेको बताउँछन्, वडा नं ४ का अध्यक्ष कर्णबहादुर थापा । वडा नं ४ का अध्यक्ष कर्णबहादुर थापाले गाउँपालिकामा करीब ४० किसान माछापालनमा संलग्न रहेको र करीब २०० किसानले तरकारी र आलुखेती गर्दै आएका जानकारी दिए । कृषिका लागि पर्याप्त बजेट विनियोजन नभए पनि कृषिलाई टेवा पुग्ने कार्यक्रम गाउँपालिकाबाट भइरहेको छ ।
गाउँपालिकामा स्थानीयस्तरमा उत्पादन भएको तरकारी सितला, पशुपति, सीतापुरको हाटबजार र मैनापोखरबाट बिक्री वितरण हँुदै आएको छ । मैनापोखर र कालिकाबाट वर्षेनी ४०० टन आलुको बीउ र एक हजार ४०० टन आलु उत्पादन हुँदै आएको छ । गाउँपालिकाकामा परम्परागत तरीकाबाट किसानले खेती गर्दै आएका छन् । केही किसान व्यावसायिक खेतीमा पनि संलग्न भएका छन् । यहाँका किसानले तरकारीका साथै धान, गहँु, मकै, मसुरो, केराउ, अरहरलगायतका अन्नबाली पनि उत्पादन गर्दै आएका छन् ।
गाउँपालिकाले यो वर्ष कृषिका लागि ६० लाख निःशर्त बजेट र रु १८ लाख सःशर्त बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताए । जिल्ला विकास कार्यालको कृषि शाखाबाट प्रवाह भइरहेको सेवामा स्थानीयलाई पहुँच दिन वडाका जनप्रतिनिधिले नै बढी भूमिका खेल्नुपर्ने स्थानीयको माग छ । विगतमा जिल्ला कृषि विकास कार्यालयबाट प्रवाह हुँदै आएको कृषि सेवा अहिले स्थानीय तहबाट प्रवाह भइरहेको छ । गाउँपालिकाले पनि कृषि शाखामार्पmत सेवा प्रवाह गरिरहेको छ तर सबै स्थानीयले प्रवाह भइरहेको त्यस्तो सेवाको उपभोग गर्न पाएका छैनन् ।
‘हामीले कृषि शाखाबाट प्रवाह हुँदै आएको सेवा समयभित्र पाउन सकेका छैनौँ, यसलाई प्रभावकारी र सहज बनाउनुपर्छ,’ गाउँपालिका–३ का स्थानीय कृषक रामकुमार थारुले भने । बजेट अभावले चाहेर पनि गाउँपालिकाले पर्याप्तरूपमा कृषि सेवा दिन सकेको छैन । गाउँपालिकामा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर किसानका लागि खर्च हुने गरेको छ । ‘सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिका लागि छुट्याउने गरेको बजेटको आकार बढाउनुपर्छ,’ गाउँपालिका कृषि शाखा प्रमुख दुर्गाप्रसाद बसौलाले भने ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार १४:४२