शुक्लाफाँटा नगरपालिका– १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चान गरेको निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ ।
बाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि मध्यनजर गर्दै औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको सङ्ख्या बढ्न थालेको हो ।
पञ्चकर्म सेवा सञ्चालन गरिएपछि औषधालयबाट एक वर्षको अवधिमै तीन हजार २६३ जना बिरामीले सेवा लिएको औषधालयका कविराज तारादत्त पाण्डेयले बताउनुभयो । जसमध्ये पुरुष एक हजार १५२ र महिला दुई हजार १११ जनाले सेवा लिएका छन् । चालु आवको असारदेखि हालसम्म महिला र पुरुष गरी पञ्चकर्म सेवा लिने बिरामीको सङ्ख्या एक हजार ७०० रहेको छ ।
“पञ्चकर्म सेवा नहुँदा मुश्किलले वर्षमा सयजना बिरामी पनि औषधालयमा पुग्दैन्थे”, उहाँले भन्नुभयो, “पञ्चकर्म सेवा सञ्चालनपछि बिरामीको चाप निकै बढेको छ ।” पञ्चकर्म चिकित्सामा रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले मालिस गरी शरीलाई पीडाबाटमुक्ति दिलाइ शरीरलाई स्फुर्ति गराइने वैद्य दिवाकर जोशीले बताउनुभयो ।
“रोगीको अवस्थाका आधारमा तेलको छनोट गरी दैनिक एक घण्टाका दरले सात देखि १४ दिनसम्म उपचार गरिन्छ”, उहाँले भन्नुभयो, “स्नेहनपछि रोगीलाई नाडी स्वेदन अन्तर्गत नलिको रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त बाष्पलाई शरीरका विभिन्न आवश्यक अङ्गमा पु¥याइन्छ ।” औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने बाष्प स्वेदन यन्त्र (बाष्प बाकस) मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त बाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान कम गर्न सहायक हुने बताइएको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनका लागि र आवश्यक सामग्री खरीद गर्न नगरपालिकाको वडा कार्यालयले रु एक लाख ५० हजार रकम उपलब्ध गराएको छ ।
औषधालयले बाष्प बाकस र अन्य सामग्री खरीद गरेको छ । औषालयले शिरोधारा सेवासमेत सञ्चालन गर्न लागेको छ । बिरामीलाई प्राकृतिक रुपमा उपचार गर्ने सेवा औषधालयले सञ्चालन गरे पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । कोठा अभावमा एउटै कोठामा पञ्चकर्म र औषधि वितरण गर्ने कक्ष राख्नुपरेको छ ।
पञ्चकर्म सेवा सञ्चालन गर्न र योगा गराउनका लागि रु ११ लाखको लागत अनुमान तयार गरी आयुर्वेदिक विभागमा पठाए पनि हालसम्म यसबारे सुनवाइ हुन नसकेको वैद्य जोशीले जानकारी दिनुभयो । औषधालयको अवस्था बारे प्रदेशसभा सदस्य लालबहादुर खड्काले निरीक्षण गरेर आवश्यक बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
औषधालय व्यवस्थापन समितिका पदाधिकारीले भत्ताको रकम जोगाएर औषधालयका लागि रु २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्रि यन्त्र र रु १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरीद गरेर बिरामीलाई सेवा दिएका छन् । औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी निःशुल्क उपचार गर्दै आएको छ ।
चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क दिइन्छ । सुत्केरी आमाका लागि दुग्धवद्र्धक सतावरी चूर्ण र सुत्केरी पछि मालिस गर्ने तेल समेत उपलव्ध गराइन्छ । वृद्धवृद्धाका लागि थकान कमगर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धबृद्धाको आकर्षण बढेको छ ।
।