सूचनाको शक्ति - The Power Of Information

        

व्यावसायिक कृषि खेतीमा अग्रसर हुँदै खजुरा

बाँके । बाँकेको खजुरा गाउँपालिका कृषि उत्पादनका लागि पकेट क्षेत्रको रूपमा चिनिदै आएको छ । उक्त गाउँपालिकाका किसानले पराम्परागत र व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । किसानले गर्दै आएको खेतीलाई व्यावसायीकरण र सहयोग गर्नका लागि गाउँपालिकाले रु ४० लाख बजेट छुट्याएको छ ।
अहिले गाउँपालिका कृषि योजना कार्यान्वयन गर्ने तयारीमा जुटेको छ । बजेट अभावका कारण चाहेर पनि कृषिसेवालाई प्रभावकारी बनाउन नसकिएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । गाउँपालिकाले स्थानीय तहमा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर खर्च गर्ने गरिएको छ ।
सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिको लागि न्यून बजेट छुट्याउने गरेको कृषि शाखा प्रमुख सुरेन्द्र ठाकुरको भनाइ छ । सो गाउँपालिकाका वडा नं २ र ३ का स्थानीयवासी व्यावसायिक रूपमा कृषि खेती गर्दै आएका छन् । ‘हामीले कृषिमा लगानी गरे पनि पर्याप्त सहयोग पाउन सकेका छैनौँ,’ खजुरा तरकारी हाटबजारका अध्यक्ष कमला न्यौपानेले भनिन् ।
झण्डै ५१ हजार जनसंख्या रहेको सो गाउँपालिकामा करीब ७० प्रतिशत जनता कृषि पेशामा आबद्ध छन् । जसमध्ये करीब ३० प्रतिशत किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । कृषकलाई पहिचान गरेर कृषि शाखाले सहयोग गर्नुपर्ने किसानको माग छ । सो गाउँपालिका विशेषगरी टमाटरखेतीका लागि प्रसिद्ध छ ।
गाउँपालिकाको वडा नं ३ को बीगाउँ, केगाउँ र वडा नं २ को सीगाउँ, गाईघाटलगायतका क्षेत्रमा बढी व्यावसायिक तरकारी खेती हँुदै आएको छ । किसानले टमाटर, काउली, बन्दाकाउलीलगायत हरियो साग उत्पादन गर्दै आएका छन् । यहाँका किसानले व्यावसायिक रूपमा तीन कठ्ठादेखि १५ बिघासम्म टमाटरलगायतका तरकारीखेती गर्दै आएका खजुरा–२ सीतापुरका किसान मोहनप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १८:१७