सूचनाको शक्ति - The Power Of Information

        

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाइने

बाँके । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसिर ९ गतेदेखि २४ गतेसम्म नेपालगन्जमा विविध कार्यक्रम गरिने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा विभिन्न संघ सस्थासँगको सहकार्यमा सचेतनामुलक र प्रचारात्मक लगायतका कार्यक्रम गरिने तयारी गरिएको छ । अभियान अन्तरगत नगरका सबै चौकमा व्यानर प्रदर्शन, एकै समयमा दिप प्रज्वलन, सेतो रिवन र पम्पलेट वितरण, सडक नाटक तथा भिडियो प्रदर्शनी, विद्यालयमा अभिमुखीकरण, चित्रकला, अन्तरक्रिया, रेडियो कार्यक्रम लगायतका गरिने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत शोभा शाहका अनुसार, विभिन्न संघसंसंस्थासँगको साझेदारीमा लैगींक हिंसा विरुद्धका कार्यक्रम गरिनेछन् । नगर उपप्रमुख उमा थापामगरको अध्यक्षतामा भएको छलफलमा संघ संस्थाका तर्फबाट सहकार्यको प्रतिवद्धता पनि आएको छ । लैगिक हिंसा सबैको साझा सवाल भएकाले अभियानमार्फत प्रभावकारी कार्यक्रम गरिने उपप्रमुख थापामगरले विश्वास व्यक्त गरेकी छन् ।
लैङिगक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आव्हान गरेको थियो । हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ महिला विरुद्धको अन्तर्राष्ट्रिय दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्म अभियान सञ्चालन गरिन्छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १२:५९