सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका अधिकांश ड्राइभिङ सेन्टर मापदण्ड विपरित सञ्चालनमा

फाइल तस्वीर ।

फाइल तस्वीर ।

बाँके । ड्राइभिङ सिप सिकाउने उद्देश्यले खोलिएका नेपालगन्जका अधिकांश ड्राइभिङ सेन्टरहरू मापदण्ड विपरित रहेका छन् । कतिपय ड्राइभिङ सेन्टरहरूले बिना दर्ता र सञ्चालन अनुमति नै कारोबार गरिरहेका छन् । मापदण्ड पूरा नगरेका र नविकरण तथा दर्ता नभएका ड्राइभिङ सेन्टरहरु जिल्लामा धेरै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रशिक्षार्थीसँग मोटो रकम असुले पनि उनीहरु सेन्टरका लागी चाहिने अधिकांश मापदण्ड पुरा नगरी सञ्चालन गदै आएका छन । सरकारी पक्षको फितलो अनुगमनका कारण मापदण्ड नपुगेका ड्राईभिङ सेन्टरहरु बजारमा विग्रल्ती खुल्न थालेका छन् । कुनै खुद्रा पसल थापेर बसेजस्तै गरी ड्राइभिङ सेन्टरहरुले प्रमाणपत्र समेत बिक्री गरिरहेको सर्वसाधारणले बताएका छन् ।
तर, अनुगमनको ठेकेदार निकाय जिल्ला प्रशासन कार्यालय भने बेखवर झै बसेको छ । जिल्लास्थित अनुगमन समिति र प्रशासनले अहिलेसम्म पनि यस्ता ड्राइभिङ सेन्टरको अनुगमन गर्न सकेको छैन् । सवारी चालक अनुमतिपत्र र अनुभव पनि नभएका चालकहरुले गाडी चलाउन सिकाउने गरेका छन् ।
बाँकेको नेपालगन्ज र कोहलपुरमा अहिले सञ्चालमा रहेका ड्राइभिङ सेन्टरहरुमध्ये अधिकांशले इजाजत लिएका छैनन् । अहिले बाँकेमा एक दर्जनको हाराहारीमा यस्ता सेन्टर सञ्चालनमा आए पनि घरेलु तथा साना उद्योग, यातायात कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा यस्ता सेन्टरको एकिन विवरणसमेत छैन ।
कतिपयले विना इजाजत ड्राइभिङ सिकाइरहेका छन् । बाँकेका ट्राफिक प्रमुख हिरेन्द्र रोकायले भने ‘सवारी तथा यातायात व्यवस्था ऐनको दफा १५९ मा सवारी प्रशिक्षण केन्द्र, मर्मत केन्द्र तथा सबै किसिमको सवारीसाधनको बडी निर्माण गर्न चाहने व्यक्ति फर्म, कम्पनी वा संस्थाले विभागमा दर्ता गर्नुपर्ने उल्लेख छ । तर, बाँके अधिकाशंले यस्तो प्रक्रिया पुरा गरेको देखिँदैन ।’
प्रावधानअनुसार साना तथा घरेलु उद्योग वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी प्यान नम्बर लिएर विभागमा दर्ता गरेपश्चात् मात्रै यस्ता प्रशिक्षण केन्द्र सञ्चालन गर्न योग्य हुन्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मापदण्ड पूरा गर्न र इजाजत पत्र लिन सबै ड्राइभिङ ट्रेनिङ सेन्टरलाई अनुरोध गरेको छ । तर, अधिकाशंले ट्राफिकको निर्देशन र अनुरोध समेत अटेर गर्दै आएका छन् ।
ड्राइभिङ सेन्टरका सञ्चालकहरुले भने सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । ‘यहाँ जग्गा महंगो छ, राज्यले गाडी सिकाउन चार विघा जग्गा चाहिन्छ भन्छ, जग्गा पाउनै मुस्किल छ, पाए पनि महँगो छ,’ कोहलपुरस्थित ड्राइभिङ सेन्टरका सञ्चालक देवीलाल बोहराले गुनासो पोखे, ‘राज्यले पनि हामीलाई सुविधा दिनुप¥यो नि ।’ यता यातायात कार्यालयका निमित्त प्रमुख बैकुण्ठ रेग्मीले जिल्लामा सञ्चालित ड्राइभिङ सेन्टरहरूले विगतमा जे जसरी चलाए पनि अहिले सरकारी मापदण्ड पुरा गर्न प्रयास गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार ०८:००