सूचनाको शक्ति - The Power Of Information

        

मुलुककै पहिलो व्यवसायिक कफी खेती अध्ययनको थलो बन्दै आँपचौर

रेनुका गिरी । बुटवल । गुल्मीको आँपचौर मुलुकमै सबैभन्दा पहिले व्यावसायिक कफी खेती गरिएको ठाउँ । उत्पादनमा समेत अग्रणी मानिन्छ । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न ठाँउको स्थलगत अध्ययन अवलोकन गरिरहेको छ । जस अन्तरगत प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गुल्मीको ब्यवसायीक कफी खेतीको अवलोकन गर्दै उक्त ठाँउ हरेक किसानका लागि अध्ययन अवलोकन गर्ने राम्रो ठाँउ रहेको बताए ।
मन्त्री गिरीले गुल्मीको उक्त आपचौर क्षेत्र कृषि पर्यटनको राम्रो क्षेत्र रहेको बताए । उनले भने, ‘अर्गानिक तवरबाट उत्पादन हुने स्वादिलो कफी नै गुल्मीले विदेशी पारखीमाझ कमाएको ‘ब्राण्ड’ नाम हो ।’ १९९५ सालमा आँपचौरका हीरा गिरीले बर्माबाट कफीको बोट ल्याएर रोपेपछि गुल्मीमा पहिलोपटक कफी खेती सुरु गरेको इतिहास छ । ब्यवसायीकरुपमा भने २०४२ सालदेखि कफी उत्पादन सुरु भएको हो । मन्त्री गिरीले कफी विकास केन्द्रको पनि अवलोकन गरेका छन् । गुल्मीमा पछिल्लो समयमा कफीको ब्यवसायीक प्रवद्र्धनका लागि निरन्तरता दिने काम भइरहेका छन् । जसअनुसार गुल्मीकै बलेटक्सारमा कफी अनुसन्धान केन्द्र पनि रहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा हाल ६ देखि ७ सय मेट्रिकटन कफी खपत हुन्छ । यसमा ५ सय मेट्रिकटन मात्र आन्तरिक उत्पादन हुने गरेको छ । जैविक मलको प्रयोगबाट उत्पादन हुने गरेको अर्गानिक कफी कोरिया र जापानमा लोकप्रिय बन्दै गएको छ । गुल्मी जिल्लामा १४० हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ ।
यसअघि बुधबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीसहित भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रदेशसभा अन्तरगतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने लगायतको टोलीले रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे समेत स्थलगत अवलोकन गरेको छ । सो अवसरमा रानिमहल क्षेत्र सडक अभावले पर्यटकको आकर्षण हुँदाहुँदै कमी आएकाले यसको अनुगमन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले बताए । उनले रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको पुल निर्माण सकेपछि रानीमहलमा पर्यटक आगमनमा वृद्धि हुने मन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ०७:३३