सूचनाको शक्ति - The Power Of Information

        

सहसचिव बस्न नमानेपछि उपसचिव ल्याएर काम चलाउनुपर्ने अवस्था

बाँके । वि.सं. २०७४ असार १४ गते स्थानीय निकायको निर्वाचन भयो । यो निर्वाचनको बेला नेपालगन्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृत थिए, भीमबहादुर कुँवर । करिब २० वर्षपछि स्थानीय निकायमा जनप्रतिनिधि आएकाले त्यतिबेला कार्यकारी अधिकृत कुँवरले तामझाम नै गरेर मेयर र उपमेयरको स्वागत गरे । असार २२ गते जनप्रतिनिधिले शपथ खाएर पदभार ग्रहण गरे ।
कार्यकारी अधिकृत भएर सबै काम गर्दै आएका कुँवरका अधिकार खुम्चिए । सबै आफ्नै निर्णयको हालीमुहालीबाट चल्ने उनी जनप्रतिनिधि आएपछि ‘आदेश’ अनुसार चल्नुपर्ने भयो । चुनाव जितेर भएका मेयर र उपमेयरसँग २० वर्षदेखि हालीमुहाली गरेका कर्मचारीको सम्बन्ध घुममिल हुन समय लाग्ने धेरैले आशंका गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकामा पनि त्यस्तै भयो ।
२०७४ कात्तिक ६ गते कुँवरको सरुवा भयो । सात महिना चार दिनमा कुँवर नेपालगन्जबाट बिदा भए । त्यसपछि आए हरि प्याकुरेल । बाँके जिल्लामा प्रशासकीय अधिकृतदेखि स्थानीय विकास अधिकारीसम्म भइसकेका प्याकुरेल नेपालगन्ज उपमहानगरपालिकामा आइपुगे । उनलाई पनि धेरै बस्न दिइएन । उपसचिव प्याकुरेललाई जाने इच्छा नहुँदा–नहुँदै सहसचिव तोयनारायण सुवेदीले विस्थापित गरे । २०७५ असार ३ गते सुवेदी नेपालगन्ज आइपुगे ।
उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिवस्तरको हुने भनिएपछि प्याकुरेल जिल्ला समन्वय समिति बाँकेतिर लागे । नेपालगन्जमा बाहिरबाट आएका माथिल्लोस्तरका कर्मचारी कहिले पो टिकेका थिए र सहसचिव सुवेदी बसुन् ! पाँच महिना नपुग्दै सुवेदीले नेपालगन्ज छाडे । नेपालगन्जका नेतादेखि कर्मचारीसम्मले ‘राम्रो’ मानेका सुवेदी किन पाँच महिना नपुग्दै नेपालगन्जबाट बाहिरिए ? खुल्न बाँकी नै रहेको छ । नेपालगञ्जको विकासमा ठूलो भूमिका खेलेको एशियाली विकास बैंक (एडीबी) को दुई दिने बैठकमा काठमाडौँ गएका सुवेदीको सरुवा भएको हल्ला फिजियो । सुवेदी नेपालगन्ज आइनपुग्दै उनको सरुवा भएको हल्ला नेपालगन्जभरि फैलियो । अन्ततः सुवेदी ६ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सरुवा भएर सुर्खेत गए । सहसचिव सुवेदी ‘बस्न नमानेको’ ठाउँमा फेरि सोमबारदेखि उपसचिव हरि प्याकुरेल नेपालगन्ज उपमहानगरपालिकामा आएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाबाट जिल्ला समन्वय समिति, बाँकेमा गएका प्याकुरेल पुनः उपमहानगरपालिका आइपुगेका हुन् । प्याकुरेललाई सोमबार कर्मचारीहरुले फूलगुच्छाले स्वागत गरेका छन् । बाँकेको ‘सबै कुरा बुझेका’ प्याकुरेल ५ महिनापछि पुनः नेपालगन्ज उपमहानगरपालिकामा फर्किएका हुन् । दैलेख घर भएका प्याकुरेल कर्मचारीमा नेपालगन्जको रैथानेजस्तै भइसकेका छन् । सहसचिव बस्न नमानेपछि फेरि उपसचिव ल्याएर काम चलाउनुपर्ने अवस्था आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा कार्यकारी अधिकृत लामो नटिक्ने या टिक्न नदिने खेल अहिलेको नयाँ होइन । कर्मचारी, नेता, जनप्रतिनिधिको तानातानको शिकार कार्यकारी अधिकृत हुँदै आएका छन् । यसअघि नेपालगन्ज निवासी लोकबहादुर सुनारले लामो समयपछि दुई वर्ष बिताएका थिए । उनी पनि अन्तिममा ‘बेइज्जती’ सहेर बाहिरिएका थिए । २०६८ चैत्र ३ गते नेपालगन्ज आएका सुनार दुई वर्षपछि गए । त्यसपछि मालपोत कार्यालय, बाँकेबाट विष्णुप्रसाद भूसाल नेपालगन्ज उपमहानगरपालिकामा आए । उनी एक वर्ष पनि टिकेनन् ।
२०७२ माघ ६ गते हेमराज भूसाल आए । उनी २०७३ भदौ २० गते नेपालगन्ज उपमहानगरपालिकाबाट बाहिरिए । हेमराज गएपछि दसैँको बेलामा कर्मचारीले तलबसम्म खाना नपाउने अवस्था आएपछि रातारात नेपालगन्जमा आइपुगे, गिरिराज ज्ञवाली । २०७३ असोज १९ गते नेपालगन्ज आइपुगेका ज्ञवाली फागुन २८ गते सरुवा भए । उनी गएपछि कृष्णप्रसाद चापागाई नेपालगन्ज आए । उनी एक महिना पनि बसेनन् ।
२०७३ फाल्गुन १७ गते आएका चापागाई चैत्र ६ गते सरुवा भएर गए । चापागाईपछि भीमबहादुर कुँवर आएका थिए । कार्यकारी अधिकृतको छिटो–छिटो सरुवा भइरहँदा नेपालगन्जको हुनुपर्ने जति विकास हुन नसकेको गुनासो रहँदै आएको थियो । जनप्रतिनिधि आएपछि अब कर्मचारीहरु पनि स्थिर हुन्छन् । र, विकासमा फड्को मार्ने आशा गरिएको भएपनि कर्मचारीको चाला उस्तै छ ।
छिटो–छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा काममा केही असर पर्छ कि पर्दैन भनेर सूचना अधिकृृत शरद पौडेललाई सोध्दा उनले भने, ‘ठूलो असर पर्छ ।’ उनले विकास निर्माणलगायत समग्र काममा हाकिम परिवर्तन हुँदा प्रभाव पार्ने बताए । ‘हिजो भावुक भएर सुवेदीको बिदाई गरियो, आज हर्षोल्लासका साथ प्याकुरेलको स्वागत गरियो,’ सूचना अधिकारी पौडेलले भने, ‘छिटो–छिटो हाकिम सरुवा हुँदा नयाँ आउनेलाई बुझ्नै समय लाग्थ्यो, प्याकुरेल सर यही बसेर गएकाले उहाँ आउँदा समस्या रहँदैन ।’

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १९:०५