सूचनाको शक्ति - The Power Of Information

        

टेलिफोन सेवा सुधार गर्न सांसद नमुनाको टोली पुग्यो राप्तीपारि

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा टेलिफोन सेवालाई सुधार गर्न सुरु गरिएको छ । नरैनापुरको सबै क्षेत्रमा टेलिफोन सेवाको अझैसम्म पहुँच पुग्न सकेको छैन । पहुँच पुगेको स्थानहरुमा समेत टेलिफोन सेवा प्रभावकारी नभएको स्थानीयहरु बताउँछन् । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी नमुनाले नरैनापुर लगायतका क्षेत्रमा टेलिफोन सेवा प्रभावकारी बनाउन पहल थालेकी छन् ।
नरैनापुर क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी र विस्तार गर्न नेपाल टेलिकमका मध्यपश्चिम क्षेत्रीय निर्देशनालयका प्राविधिक प्रमुखसहित सांसद नमुना आइतबार नरैनापुरका विभिन्न स्थानहरुमा पुगेकी छन् । टेलिकमको प्राविधिक टोलिले नरैनापुरका विभिन्न स्थानहरुमा पुगेर समस्या बुझेको थियो । सांसद नमुना, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साह, टेलिकमका प्राविधिक प्रमुख शिव खनाल लगायतको टोलीले त्यसक्षेत्रका सबै टावरहरुको स्थलगत अनुगमन गर्नुका साथै टावरहरुको क्षमताको बारेमा समेत जानकारी लिएको थियो ।
जिल्लाको दुर्गम ठाउँ भनेर चिनिने नरैनापुरमा टेलिफोन सेवा प्रभावकारी नभएकाले सेवालाई प्रभावकारी बनाउनको लागि टेलिकमका प्राविधिक प्रमुखसहितको टोली लिएर आफु नरैनापुर आएको बताइन् । अब यस क्षेत्रमा इन्टरनेट र फोन सेवालाई प्रभावकारी बनाउन टावरहरुको क्षमता विस्तार र केही नयाँ टावरसमेत स्थापना गर्नुपर्ने उनको भनाई रहेको छ । नदीपारिका सबै गाउँहरुमा सहजरुपमा फोन लाग्ने र इन्टरनेट चल्ने गरी सेवा सुधार गर्न आफु विभिन्न निकायहरुमा धाइरहेको सांसद नमुनाले जानकारी दिइन् ।
गाउँपालिकाका प्रमुख साहले फोन सेवा प्रभावकारी नहुँदा स्थानीयबासीहरुले धेरै दुख पाइरहेको भन्दै छिट्टै समस्या हल गर्न आग्रहसमेत गरे । त्यसका लागि गाउँपालिका जुनसुकै सहयोग गर्नसमेत उनले प्रतिबद्वता जनाए । नेपाल टेलिकमका मध्यपश्चिम क्षेत्रीय निर्देशनालयका प्राविधिक प्रमुख खनालले केही मात्रामा केही दिनयता यस क्षेत्रको सेवामा सुधार आएको बताए । सबै गाउँहरुमा नेटवर्कले काम गर्नेगरी टावरहरुको क्षमता विस्तार भइरहेको जानकारी दिँदै चिसो मौसममा समेत सेवा अवरुद्व नहुने गरी तयारी थालिएको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार १७:३८