सूचनाको शक्ति - The Power Of Information

        

गरिबका झुपडी विस्थापित गरी उचित बसोबासको व्यवस्था हुन्छ : वाम उम्मेदवार


बाँके । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारहरुले ५ बर्षे कार्यकालमा गरिबका झुपडी विस्थापित गर्दै उचित बसोबासको व्यवस्था गर्ने योजना सार्वजनिक गरेका छन् । वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले जानकी गाउँपालिकाको बेलहरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतम, जिल्ला मुल निर्वाचन परिचालन कमिटीका संयोजक दिनेश यादव, क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनार लगायतले गरिबी उन्मुलन गर्ने बाम गठबन्धनको मुख्य काम हुने बताए ।
‘आर्थिक सम्वृद्धि र विकासका लागि वाम गठबन्धनलाई जिताउनुहोस्,’ प्रतिनिधीसभाका उम्मेदवार रोकायले भने, ‘वाम गठबन्धन रक्सी मासु होइन, विकासको योजनासहित आएको छ ।’ प्रदेशसभाका उम्मेदवार गौतमले आफुहरु सधै जनताको साथमा रहदै आएको बताउदै बेलहरीमा रहेको बाबाकुट्टीको उचित संरक्षण गरी पर्यटकीयस्थल बनाउने, इश्वजरी तालको संरक्षण गर्दै सिचाईका लागि प्रयोग गर्ने, नालीसहित सडक बिस्तार गर्नेसँगै शिक्षा, स्वास्थय र प्रसुती गृह निर्माण गरिने योजना रहेको बताए । जिल्ला मुल निर्वाचन परिचालन कमिटीका संयोजक यादवले विकास र सम्वृद्धिका लागि ५बर्षे स्थायी सरकार आवश्यक रहेको भन्दै वाम गठबन्धनलाई सहयोग गरी विकास र सम्वृद्धि रोज्न अपिल गरे ।
क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक सुनारले जनता आवास कार्यक्रम एमाले नेतृत्वको सरकारले सुरुवात गरेको बताउँदै स्थायी सरकारमा भएमा झुपडी बिस्थापित गरि पक्कि बनाइने बताए । उनले भने, ‘सन्ततीको सुखद भविष्यका लागि बाम गठबन्धनलाई जिताउनुहोस् ।’ उनले बेलहरीमा ३५ सइयाको अस्पताल निर्माण गरिने बताए । कार्यक्रममा जानकी गाउँपालिकाका प्र मुख रामनिवास यादवले जातिय आधारमा नभई विकासको एजेण्डाका आधारमा मत दिन अपिवल गर्दै बाम गठबन्धन स्पष्ट योजनासहित चुनावी अभियानमा आएको बताए । बाम गठबन्धन निर्वाचन परिचालन कमिटी बेलहरीका संयोजक अर्जुन उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा वाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, पदम धिताल, सतिश निरौला, रक्षाराम बर्मा लगायत उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार ०६:२७