सूचनाको शक्ति - The Power Of Information

        

बाँके र बर्दियामा ८५ हजार क्वीन्टल धान खरिद गर्दै खाद्य संस्थान

बाँके । नेपाल खाद्य संस्थानले बाँके र बर्दियामा ८५ हजार क्वीन्टल धान खरिद गर्ने भएको छ । संस्थानका अनुसार बाँकेमा २५ हजार क्वीन्टल र बर्दियाको राजापुरमा ६० हजार क्वीन्टल धान खरिद गरिनेछ ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार केही दिनमै धान खरिद गर्ने संस्थानले जनाएको छ । किसानलाई उचित मूल्य दिई सहुलियतर दरमा चामल वितरण गर्न संस्थानले बाँके, बर्दियासहितका विभिन्न जिल्लाबाट धान खरिद गर्न लागेको हो ।
कूल उत्पादनको एक प्रतिशत धान खरिद गर्न सरकारले निर्देशन दिएको हो । धान खरिद गर्न आवश्यक पर्ने रकम उपलव्ध गराउन अर्थ मन्त्रालयले सहमति दिइसकेको र धान खरिदका लागि परिपत्र आइसकेको नेपाल खाद्य संस्थान बाँकेका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।
सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ३३१ र मध्यम धान प्रतिक्विन्टल २ हजार ४६० रूपैयाँ मूल्य निर्धारण गरेको छ । बजारमा सस्तो मूल्यमा बिक्री भइरहेका बेला किसानलाई उचित मूल्य उपलब्ध गराउन सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको हो ।
व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्ने हुँदा किसानलाई लागत मूल्यसमेत उठाउन कठिन हुने गरेको थियो । गतवर्ष देशभरमा ५८ करोड रूपैयाँको १ लाख ८५ हजार क्विन्टल धान खरिद गरेको संस्थानले ९१ करोड रूपैयाँ बराबरको ३ लाख ५० हजार क्वीन्टल धान खरिद गर्न लागेको हो ।
किसानबाट खरिद गरेको धान संस्थानले आफ्नै मिलमा कुटाएर उपभोक्तालाई सहुलियत दरमा वितरण गर्ने नेपालगन्जस्थित संस्थान प्रमुख जोशीले जानकारी दिनुभयो । गत वर्ष नेपालमा ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष मौसम अनुकूल भएकाले धानको उत्पादन बढ्ने साबिकका कृषि विकास कार्यालयले जनाएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १६:२५