बाँके । नेपालगन्जको पुष्पलाल चोक आसपासको क्षेत्र दिनभर तनावग्रस्त रह्यो । विहान सवा ९ बजेदेखि दिउँसो सवा चार बजेसम्म सो क्षेत्रको यातायात समेत प्रभावित बन्यो । सो आसपासको क्षेत्र नेपाल प्रहरी र नेपाली सेनाको कब्जामा रह्यो । नेपाल प्रहरीका एसपीसहितको टोली र नेपाली सेनाको तालिम प्राप्त कमाण्डोले करिब सात घण्टासम्म पुष्पलाल चौक आसपासको क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्यो ।
घरघरबाट सर्वसाधारणहरुले नेपाल प्रहरी र नेपाली सेनाका क्रियाकलापहरु नियालिरहेका थिए । रणभूमिजस्तै देखिएको सो क्षेत्रमा नेपाली सेना र प्रहरीका गाडीहरु छेउछाउमा तैनाथ गरिएका थिए । यी सबै दृष्य देख्दा लाग्थ्यो यहाँ संकटकालिन अवस्थाको घोषणा गरिएको थियो । सर्वसाधारणहरु त्रसित हुनुका साथै ती दृष्यहरु देखेर एकापसमा कानेखुसी गर्नुका साथै कौतुहतता व्यक्त गरिरहेका थिए ।
तर त्यहाँ सर्वसाधारणले सोचेजस्तो अवस्था नभई बम राखिएको हल्लाले नेपाली सेना र प्रहरीले सो क्षेत्रलाई पहरा दिँदै बम निष्क्रिय बनाउनका लागि भरपुर प्रयास गरिरहेका थिए । नेपालगन्जको पुष्पलाल चौकस्थित पुष्पलालको शालिकमुनि राखिएको बम निष्क्रिय बनाउन नेपाली सेना र प्रहरीले निकै प्रयास गरिरहेका थिए । नेपाल प्रहरीले तालिम प्राप्त कुकुरसमेत त्यहाँ तैनाथ गरेको थियो ।
चौकमा राखिएको बन नेपाली सेनाले करिब सात घण्टामा निष्क्रिय पारेको थियो । बिहीबार विहान सवा ९ बजे निलो प्लाष्टिकको झोलामा पुष्पलालको सालिकमूनि राखिएको बम नेपाली सेनाको भैरव प्रसाद गण राँझाको बम डिस्पोजल टोलीले दिउँसो सवा चार बजे निष्क्रिय पारेको थियो । पुष्पलाल चोकमा डिस्पोज गर्दा मानवीय क्षति हुने देखिएपछि उपसेनानी मोहन ओलीको कमाण्डमा आएको सेनाको टोलीले बम रहेको निलो झोला सुरक्षित साथ उठाएर वाटरपार्क टाउन प्लानमा लगेर निष्क्रिय बनाएको थियो ।
वाटरपार्कमा पहिलो पटक बम निष्कृय पार्ने क्रममा नपड्किएपछि दोश्रो पटक पड्काउन सफल भएको सुरक्षाकर्मीले जनाएका छन् । फोन गर्ने ब्यक्तिले निलो प्लाष्टिकको झोलामा बम भएको भन्दै सचेत रहन सुझाव दिएपछि होटल सञ्चालकले प्रहरीलाई खवर गरेका थिए । बम होममेड र शक्तिशाली भएको जनाकारी डिस्पोजल टोलीले जनाएको छ । प्लाष्टिकको झोलाभित्र जिआई पाईपभित्र बम राखिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जनाएको छ ।
बाँकेका प्रहरी प्रमूख अरुण पौडेलले बम राखेर होटल मालिकलाई फोन गर्ने ब्यक्तिको बारेमा अनुसन्धान भइरहेको बताए । शंकास्पद सामान राख्ने व्यक्तिले विहान १० बजेर २३ मिनेट जाँदा होटल एभरेष्टका मालिकलाई फोनमार्फत जानकारी गराएका थिए । पुष्पलाल चोकमा राखिएको सीसीटीभीको फुटेजमा भने ९ बजेर १५ मिनेटमा प्लाष्टिकको झोला राखेको रेकर्ड देखिएको छ । बमसँगै कमाण्डो ग्रुप नामक पर्चा भेटिएको थियो ।
।