बाँके । बाँकेमा निर्माणाधिन डुडुवा सिचाई प्रणालीको काम अधुरो छाड्ने ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन कम्पनीसँगको ठेक्का तोडिएको छ । जलस्रोत तथा सिँचाइ विभागले सिक्टा सिचाइँ आयोजना अन्तर्गतको डुडुवा सिचाई प्रणालीको ठेक्का तोडेर कालो सूचीमा राखेको हो । सरकारसँग भएको सम्झौता अनुसार ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको विभागले जनाएको छ ।
पप्पुले डुडुवा सिचाई प्रणाली सुधारको काम गर्ने सम्झौता गरे पनि विगत दुई वर्षदेखि अधुरै छाडेको थियो । विभागका महानिर्देशक सरोज पण्डितले डुडुवा सिचाई प्रणालीको काम गर्न ठेकेदारले आलटाल गर्दै आएकाले सम्झौता तोडिएको जानकारी दिए । ठेकेदारले काम नगर्दा आयोजना नै प्रभावित भएको उनको भनाई छ ।
डुडुवा सिचाई प्रणालीको ठेक्का अहिले देशमै बदनाम भइरहेको पप्पु कन्स्ट्रक्सनले लिएको थियो । कोस्टल–पप्पु जेभीका नाममा रहेको ‘एसआइपीरडी आइएसरएमसीर आइसिबी–०१’ नम्बरको ठेक्का गत कात्तिक २१ गते तोडिएको पण्डितले बताए । ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि लक्ष्यअनुसार काम हुन नसकेपछि कानुन अनुसार प्रक्रिया अगाडी बढाइएको उनले प्रष्ट पारे ।
‘सार्वजनिक सूचना निकालेर दबाब दिँदासमेत काम अघि बढ्न सकेन,’ उनले भने ‘त्यसपछि बाध्य भएर ठेक्का तोड्यौं ।’ डुडुवा सिचाई प्रणालीका लागि ९८ करोड ८१ लाख रुपैयाँमा सन् २०१६ जुन २० तारिखमा सम्झौता भएको थियो । ठेकेदारले सन् २०१८ अक्टोबर ८ सम्म जम्मा ६.९ प्रतिशतमात्र काम गरेको विभागको रेकर्ड छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा ठेक्का सम्झौताको एफआइडिआइसीको बुँदा नं. १५.२ (बी) अनुसार ठेक्का अन्त्य गरिएको विभागको निर्णयमा उल्लेख छ । ठेक्का तोडिएसँगै निर्माण व्यवसायीले राखेको जमानतबापतको सम्पूर्ण रकम जफत गर्ने निर्णय पनि भएको छ । विभागले सम्झौता अनुसार बाँकी रहेको निर्माण पूरा गर्न लाग्ने रकम पप्पुसँग सरकारी बाँकी सरह असुलउपर गर्ने निर्णयसमेत गरेको छ । पप्पुसँगको ठेक्का तोडिएसँगै डुडुवा सिचाई प्रणालीको काम गर्न विभागले नयाँ प्रक्रिया थाल्ने जनाएको छ ।
।