बाँके । नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवाका लक्ष्मीप्रसाद शर्मा सामाजिक कार्यकर्ताका रुपमा चिनिन्छन् । १४ वर्षअघि सामाजिक काममा संलग्न शर्मा हाल बाँकेकै एक गैरसरकारी संस्थामा सिनियर कार्यक्रम सुपरभाइजरका रुपमा कार्यरत छन् । गाउँदेखि शहरसम्म उहाँलाई चिन्नेहरुले पनि सामाजिक कार्यकर्ता भनेरै चिनिन्छन् ।
स्नातक उत्तीर्ण उनले सामाजिक अभियानका क्रममा विशेषगरी शैक्षिक विकासका क्षेत्रमा आफ्नो समय खर्चिए ।१४ बर्षदेखि शैक्षिक विकासका लागि हुने गरेका विभिन्न गोष्ठी, सेमिनार र ¥यालीहरुमा उनको उपस्थिति अनिवार्यजस्तै थियो । जसरी भए पनि ती कार्यक्रमहरुमा सहभागि हुनुपर्ने र शैक्षिक विकासका लागि आफ्ना विचारहरु व्यक्त गर्नैपर्छ भन्ने उनलाई लाग्थ्यो ।
उनलाई जसले पनि सामाजिक कार्यकर्ताकै रुपमा चिन्छन् । धेरैलाई थाहा छैन उनको जीवनको अर्को भित्री कथा । उनी समाजिक कार्यकर्तासँगै विगत ८ वर्षदेखि पशुपालन र तरकारी एकसाथ गरिरहेका छन् । उनलाई बुझ्नेले सामाजिक कार्यकर्ता मात्रै भने पनि उनी सफल कृषक पनि हुन् भन्नेमा धेरैलाई जानकारी छैन । दिउँसोको समय गैरसरकारी संस्थाको जागिरे भए पनि साँझविहान कृषकको भूमिकामा देखिन्छन् शर्मा ।
‘जागिरले चिनाउँछ, चिनाएको छ । कृषि कर्मले उचाइँमा पु¥याउँछ,’ उनी भन्छन्, ‘जागिरले सामाजिक प्रतिष्ठा र सबैसँग चिनजान गराएको छ, कृषि कर्मले मेरो पारिवारिक जिम्मेवारी र आम्दानीसमेत बढाएको छ ।’ त्यसो त उहाँलाई उनकी श्रीमती गीताले भरपुर सघाएकी छन् । श्रीमान् जागिरमा जाँदा कृषि कर्मको जिम्मेवारी गीताले सम्हाल्दै आएकी छन् । ‘श्रीमान्ले अँगालेका दुवै पेशाप्रति खुशी छु,’ गीताले भनिन् ।
लक्ष्मीको गोठमा चार वठा उन्नत जातका गाई छन्, एउटा भैसी छ । चार वटा गाईमध्ये अहिले दुई वटा गाई दुहुना छन्, दुई वटा गाई गर्भवती छन् । दुई गाई र एउटा भैसीको दुधले अहिले आम्दानी दिइरहेको छ । लक्ष्मीका अनुसार अहिले करिब ३० लिटर दुध विक्री हुन्छ । जसबाट मासिक करिब रु.४५ हजार आम्दानी भइरहेको छ । ‘गर्भवती रहेका दुई वटा गाई ब्याउने हो भने मेरो आम्दानी दोब्बरले बढ्छ,’ कृषि पेशामा रमाएका लक्ष्मीले भने ।
फुर्सदमा पशुपालन र तरकारी खेती गरेर राम्रै आम्दानी गरिरहेकोमा उनले सन्तुष्टि व्यक्त भने, ‘गैरसरकारी संस्थाको जागिर त कार्यक्रम हुँदासम्म हो, कार्यक्रम सकिएपछिको जागिर यही कृषि कर्म त हो नी ? यसलाई वेवास्ता गर्ने कुरै भएन ।’ आफ्नो एक्लो प्रयासमा मात्रै नभएर श्रीमती गीताको सहयोगले सामाजिक र पारिवारिकरुपमा आफूलाई सफलता मिलेको उनको भनाई छ ।
पशुपालनसँगै उनले तरकारी खेतीलाई पनि उसैगरी अघि बढाएका छन् । उनले पाँच कठ्ठामा काउली, बन्द, मुला, आलु, टमाटर लगायतका तरकारीहरु लगाएका छन् । ‘तरकारीले पनि राम्रै आम्दानी दिइरहेको छ,’ लक्ष्मीले भने, ‘सिजनमा रु.२ लाखसम्म आम्दानी हुन्छ ।’ पशुपालन र तरकारी खेतीले उनको जीवनस्तरलाई व्यवस्थित र आर्थिकरुपमा दरिलो बनाएको छ ।
दुध र तरकारी विक्रीका लागि उनलाई समस्या छैन । स्थानीय एयरपोर्ट र राझा बजारमै खपत हुन्छ । उत्पादन गरेको तरकारीले कहिँलेकाहीँ मुल्य नपाउने भए पनि त्यो खासै समस्याका रुपमा नरहेको उनको भनाई छ । ‘कहिलेकाहीँ मुल्य तल झर्दा विक्रीमा समस्या हुने गरेको भए पनि घाटा नै भइहाल्ने भन्ने हुँदैन । अरुबेला बढेको मुल्यले त्यसलाई समायोजन गरिहाल्छ,’ उनले भने ।
लामो समयदेखि पशुपालन र तरकारी खेती गर्दै आए पनि हालसम्म कसैको सहयोग नलिएको उनले बताए । सम्बन्धीत सरकारी तथा गैरसरकारी निकायसँग सहयोगका लागि आग्रह गरे पनि सहयोग नपाएको उनको गुनासो छ । ‘धेरै ठाउँमा आग्रह गरियो, पहुँच नहुँदा सहयोग नपाइने रहेछ । मैले पहुँच स्थापित गर्न सकेन, त्यसैले होला अहिलेसम्म कहिँकतैबाट सहयोग पाएको पनि छैन,’ उनले भने ।
लक्ष्मीले युवाहरुलाई कृषि पेशामा लाग्न आग्रह पनि गरे । उनी भन्छन्, ‘हामी स्वदेशमै बसेर विदेशमा गएर लाखौं रकम कमाउने सपना देखिरहन्छौं । लाखौं रकम कमाउन विदेशमै जानुपर्छ भन्ने छैन । विदेशमा गर्ने श्रम पनि यहाँ खर्चिनुपर्दैन ।’ स्वदेशमै केही गरौं, स्वदेशमै कमाउन सकिन्छ भन्ने भावना नभएकै कारण नेपाली युवाहरु विदेशिनुपरेको भन्दै युवाहरुलाई नेपालमै बसेर कृषिकर्ममा लाग्न उनले सुझाव दिए ।
।