सूचनाको शक्ति - The Power Of Information

        

पिकनिकको लहर : भरीभराउ पर्यटकीय स्थल

बाँके । नेपालीहरुका प्रमूख चाडपर्व दशैं तिहार सकिएका छन् । जाडो मौसम सुरु भइसकेको छ । तिहारमा देउसी भैलो खेलेर मनोरञ्जनसँगै आर्थिक संकलन गरेकाहरुले कसैले सामाजिक काममा रकमको सदुपयोग गरिरहेका छन् भने कसैले पिकनिकमा खर्च गरिरहेका छन् ।
तिहार सकिए लगत्तै यहाँ पिकनिक जाने लहर सुरु भएको छ । बाँकेका विभिन्न पर्यटकीय स्थलहरुमा दैनिकजसो सयौँ युवायुवतीहरु पिकनिकका लागि आउने गर्छन् । हिजोआज यहाँ पिकनिक आउनेको घुइचो लाग्ने गर्छ । अधिकांश पर्यटकीय क्षेत्रहरु बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् ।
निकुञ्जमा चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य हेर्न पाइने भएकाले पर्यटकको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित हुँदै आएका छन् । हरेक समुहले आआफ्नै तरिकाले बाजागाजा तथा भेषभुषामा सजिएर पिकनिक मनाइरहेका देखिन्छन् । पिकनिकमा आएकाहरुको रौनक नै बेग्लै हुने गर्दछ ।
साथीहरु जम्मा भएर तिहारमा देउसी भैलो खेल्ने, पिकनिक जाने र रमाइलो गरेर आ–आफ्नो कर्म थलोतर्फ जाने गर्छन् । बर्दिया बाँसगढी नगरपालिकाका भूपेन्द्र खड्का बाँकेको अगैयास्थित राप्ती नदी किनारमा रहेको पार्कमा रमाउँदै देउसी भैलो खेलेर साथीहरुसँग रमाइलो गरिरहेको बताउँछन् ।
‘देउसी भैलोबाट उठेको रकमले पिकनिकका लागि यहाँ आएका हौं,’ खड्काले भने, ‘चाडपर्वमै साथीसंगी एकापसमा भेट भएर रमाइलो गर्छौं । अन्य समयमा त भेटघाट नै हुँदैन, चाडपर्व पारेरै रमाइलो गर्ने त हो नि ?’ बाँकेका पर्यटकीय स्थलहरु पिकनिक आएका समुहहरुले भरिभराउ भएका छन् ।
बाँकेको पर्यटकीय स्थल गाभर भ्यालीमा पिकनिकमा आएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ का रमेश आचार्यले चाडपर्व सकिएसँगै देउसी भैलोबाट संकलन भएको रकमले साथीहरु रमाइलो गर्दै पिकनिक खान आएको बताए । तिहारमा देउसीभैलो खेलेपछि पिकनिक खाने चलन रहेको छ ।
आचार्यले भने, ‘हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाइसँग एकै ठाउँमा भेला हुने, भविष्यका योजनाहरु बुन्ने, नयाँ र पुराना पुस्ताबीच घुलमिल हुन्छौं ।’ त्यसो त पिकनिकलाई साथीको विदाई, विभिन्न संघसंस्थाका साधारणसभा, पारिवारिक भेटघाटजस्ता अवसरका रुपमा पनि लिइन्छ ।
बाँकेको गाभर भ्याली र अगैया मात्र नभई ढकेरी, मानखोला, चट्टार लगायतका पर्यटकीय स्थलहरु पिकनिक टोलीले भरिभराउ छन् । पिकनिकका लागि बाँकेसँगै बर्दिया, दाङ र सुर्खेतबाट आउने गरेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।
वनभोज खान जानेको चहलपहल बढेसँगै बाँके राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकहरुको संख्यामा समेत वृद्धि भएको छ । निकुञ्ज लगायतका अन्य पर्यटकीय क्षेत्रमा दृश्यावलोकनका साथै घुमघाम गर्नेको संख्यामा वृद्धि भएको बताउँदै चौधरीले भने, ‘शनिबारको दिन धेरै भीड हुने गरेको छ ।’
शनिबार सार्वजनिक बिदा हुने भएकाले विद्यार्थी तथा कर्मचारीहरु परिवारका साथ घुम्नका लागि ती पुग्ने गर्छन् । बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाभर भ्याली, ढकेरी र अगैया पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका छन् । पिकनिकमा आउने समुहहरुले अगैयामा निकै चहलपहल बढेको छ ।
ढकेरीमा मात्र दैनिक ८ देखि १५ वटासम्म टोली पुग्ने गरेका छन् । गाभरमा पनि पिकनिक टोलीको उस्तै भीडभाड हुने गरेको छ । पिकनिक पारखीहरूको हब बन्दै गएको छ । ‘कात्तिकदेखि पिकनिकको मौसम सुरु हुन्छ । यो क्रम करिब बैशाख महिनासम्म चल्छ,’ अध्यक्ष चौधरीले भने ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार ०७:५५