सूचनाको शक्ति - The Power Of Information

        

एकीकरण प्रक्रिया नटुंगिँदै नेकपामा नयाँ धार !

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हो ।
सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो ।
पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन् । पछिल्लो पटक सचिवालय बैठक कात्तिक ५ गते बसेको थियो ।
पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डनेताद्वय नेपाल र श्रेष्ठको कदमलाई पार्टीभित्र नयाँ धारको नेतृत्व नभई त्यहीभित्र रहेको ‘धार’ मा पाइन हाल्न खोजेको बताउँछन् । ‘पार्टी एकताबारे पार्टीभित्रको धार भुत्ते भयो, त्यसमा नेताद्वयले पाइन हाल्न खोज्नुभएको थियो । त्यो पनि काम लागेन ।
त्यसपछि न सचिवलायको बैठकले निरन्तरता पायो न स्थायी समितिकै बैठक बस्न सक्यो,’ पाण्डेले भने । उनका अनुसार पार्टीका सबै अंगले राम्रोसँग काम गर्न पाउनुपर्छ भन्ने आमकार्यकर्ताको भनाइ छ । ‘पार्टीका सबै कमिटी चलायमान हुनुपर्छ, सबैले जिम्मेवारी पाउनुपर्छ र त्यो न्यायोचित हुनपर्छ भन्ने सबै नेता कार्यकर्ताको भनाइ हो,’ पाण्डेले भने ।
नेता नेपाल र प्रवक्ता श्रेष्ठले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन विधि, प्रक्रिया र पद्धतिप्रति असहमति जनाउदै पछिल्लो सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए । बैठकमा दुवै नेताहरुले मनोनयनको विषयलाई लिएर पार्टी नेतृत्वको चर्को आलोचना गरे पनि सुनुवाइ भएन । अर्को बैठकमा यस विषयमा टुंगोमा पुग्ने भनिए पनि बैठक बस्ने सकेको छैन ।
सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, श्रेष्ठ, रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल छन् । ५ असोजको सचिवालय बैठकमा नेपाल र श्रेष्ठ अनुपस्थित थिए । त्यसबेला नेपाल दक्षिण अफ्रिकी राष्ट्र घानाको भ्रमणमा थिए भने श्रेष्ठचाहिँ चीन गएका थिए ।
दुवै नेता नभएका बेला सचिवालय बैठकले बहुमत सदस्य उपस्थित भएको भन्दै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेको थियो । एकीकृत पार्टीले पूर्णआकार ग्रहण गरिनसक्दै विधि र प्रक्रियासमेत मिचेर प्रदेशमा मनोनयन गरिएको विषयमा नेपाल र श्रेष्ठले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
पछिल्लोपटक कात्तिक ५ मा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहालले मनोनयनमा भएको कमीकमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरे पनि सोअनुसार काम हुन सकेको छैन । यो विषयले आगामी स्थायी कमिटी बैठकमा समेत प्रवेश पाउने निश्चित भएको छ । सचिवालयका बहुमत सदस्यले गरेको निर्णय स्थायी कमिटीले मात्र उल्ट्याउन सक्छ ।
स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गते बस्ने भनिए पनि अन्तिम अवस्थामा आएर तयारी नपुगेको भन्दै स्थगित गरियो । अब स्थायी कमिटीको बैठक कहिले बस्छ भन्ने टुंगो छैन । प्रदेश कमिटी गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरिए पनि त्यसले काम नसकेको भन्दै स्थायी कमिटीको बैठक स्थगित गरिएको ती नेताले बताए । दुई सदस्यीय कार्यदलमा सचिवालय सदस्य थापा र महासचिव पौडेल छन् ।
एक केन्द्रीय सदस्यका अनुसार ४४१ सदस्यीय केन्द्रीय कमिटीमा नेताद्वय नेपाल र श्रेष्ठले करिब एकतिहाइ सदस्यको नेतृत्व गरेका छन् । नेपाल र श्रेष्ठले सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दे आएका छन् । नेता नेपालले त संसद्मै सरकारले गति लिन नसकेको भन्दै खुलेर आलोचना गरेका थिए । नेता नेपाल र श्रेष्ठले सरकारको आलोचना तथा सचिवालय बैठकका निर्णयप्रति नोट अफ डिसेन्ट राखेपछि पार्टी्भित्र तरंग पैदा भएको एक नेताले बताए ।

 

 

#नागरिक दैनिक

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतवार ११:३८