सूचनाको शक्ति - The Power Of Information

        

च्याउ खेतीले बिर्सायो विदेशको दुख, सुनारलाई स्वदेशमै ‘आम्दानी र सन्तुष्टि’

बाँके । परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ बर्षअघि विदेश लागे । ६ वर्ष कुवेतकोे गर्मीमा बिताउँदा समेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन ।
खजुरा गाउँपालिका ३ के गाउँका सुनारले ६ बर्षअघि आफ्नै गाउँमा च्याउ खेती सुरु गरे । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत । उनलाई स्वदेशमै आम्दानी र सन्तुष्टि मिल्यो । १६ हजार रुपैयाँबाट च्याउ खेती सुरु गरेका सुनार अहिले व्यावसायिक च्याउ खेतीमा रमाएका छन् । उनको लगानी अहिले अहिले १ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
उनले एक वर्षसम्म नेपालगन्जमा फलफूल र तरकारीको ठेला लगाए । पछि जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम अन्तर्गत ६० हजार रुपैयाँबाट तरकारी खेती सुरु गरेका सुनारले ०६९ सालमा टहरा बनाएर १६ हजार रुपैयाँको लगानीमा च्याउ खेती सुरु गरे । सुरुमा १२० पोकाबाट च्याउखेती सुरु गरेका उनले उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन् ।
दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाए । ‘लक्ष्मी बैंकबाट ३५ लाख रुपैयाँ ऋण लिएँ,’ उनले भने, ‘यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।’ विदेशको दुख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएको उनले बताए । ‘अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,’ उनले भने । टहराबाट च्याउखेती सुरु गरेका सुनारले दुई वर्षअघि आधुनिक पक्की संरचना बनाए ।

‘हिजो १०/१५ हजारका लागि अरूसँग हात जोड्नुपथ्र्याे । आज २/४ लाख दिने मान्छे छन् ।’

अहिले च्याउ लगाउनका लागि ८ वटा ठूला कोठा निर्माण गरिएको छ । पराल राख्ने, पराल पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ तयार गरिएको छ । उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गरेका छन् । च्याउ फर्ममा ५ जनाले नियमित रोजगारी पाएका छन् । सिजनमा २० जनाभन्दा धेरै हुन्छन् । आवश्यकताअनुसार दैनिक कामदार लगाउने गरिएको छ । फर्ममा कन्य च्याउको उत्पादन गरिँदै आएको भए पनि यस वर्षदेखि गोब्रे च्याउको पनि उत्पादन सुरु गर्ने सुनारले बताए ।
च्याउको सिजन सुरु भइसकेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेचेका सुनारले यसवर्ष यसलाई बढाउने लक्ष्य लिएका छन् । उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । तालिमबिना नै च्याउ खेती सुरु गर्नुभएका सुनार अचेल आफैं तालिम दिन्छन् । मिहिनेत गरे सफल भइन्छ भन्ने सोचाइ सुनारको छ । खेती गर्दै जाँदा अनुभव भयो ।
‘आत्मविश्वास बढ्यो । यसैमा लागिपरे । कर्म गरे अवश्य फल पाइन्छ,’ उनले भने, ‘हिजो १०/१५ हजारका लागि अरूसँग हात जोड्नुपथ्र्याे । आज २/४ लाख दिने मान्छे छन् ।’ व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । तर, उनी च्याउ खेतीमै लागिपरे र सफल पनि बने । ‘०७३ सालमा खोर नै सखाप भएको थियो । १७ लाखको लगानी खेर गयो । तर, हिम्मत हारिनँ,’ उनले भने, ‘साथीभाइको साथले फेरि सुरु गरें ।’
समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनले बताए । सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाइसकेका छन् । पुरस्कार र सम्मानले मैले पनि केही गरिरहेको छु भन्ने लाग्ने उनी बताउँछन् । ‘आफ्नो काममा खुसी र सन्तुष्ट छु,’ उनले भने, ‘अझै धेरै गर्न बाँकी छ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार ०९:३२