सूचनाको शक्ति - The Power Of Information

        

झडपमा पाँच घाइते, एकजना प्रहरी नियन्त्रणमा

दुर्गा विसी । सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ भेरीपुलमा हिजो बेलुकी ९ बजे युवाहरुबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
सुर्खेत र सल्यान जोड्ने भेरीपुलमा बनगाड कुपिण्डे नगरपालिका–१ पानीखोलाका दर्जन बढि युवाहरुको समुहले सुर्खेत सिम्ता गाउँपालिका–६ ठिग्नीका भैली खेलेर फर्कन लागेका समुहमाथि आक्रमण गरेका थिए ।
सिम्ता गाउँपालिका–६ ठिग्नीका २१ वर्षिय मोहमद विसी, सोहि स्थानका २४ वर्षिय मोहन विसी, सुवास विसी र विक्रम विसी घाइते भएका छन् । घाइते पाँच जनाको सुर्खेत क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
उनीहरुको साथमा रहेका मोटरसाइकल समेत तोडफोड भएको ईलाका प्रहरी कार्यालय सल्लीवजारले जनाएको छ । घटनामा संलग्न सल्यान पानीखोलाका भुपेन्द्र पुन, योगेश पुनमगर, कमल पुन, नवराज पुन, टेकेन्द्र थापा, कमलेश पुन, दिपक पुन लगायतको समुहले आफुहरुमाथि आक्रमण गरेको घाइते सुवास विसीले बताए ।
भेरी पुल नजिकै भैली खेलेर फर्कने क्रममा दिपक पुनहरुको समहुले आफुहरुमाथि आक्रमण गरेको र अरु साथीहरु भागेर बचेको भए पनि आफुहरुलाई निर्घात रुपमा कुटेको बताएका छन् । झडपमा संलग्न दिपक पुनलाई भने प्रहरीले नियन्त्रणमा लगेको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार ०९:३१