सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डको अभिव्यक्तिले सरकारमा तरंग, यी मन्त्रीहरुको तिहार खलबलियो

काठमाडौं । सबै हिन्दू नेपालीहरू तिहारमा रमाइ रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू फेर्ने कुरा गरेर राजनीतिलाई आफूतिर तानेका छन् ।
दशैंअघि पनि प्रचण्डले मन्त्रीहरू फेर्ने कुरा गरेका थिए । त्यसबेला प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गरिदिएका थिए । तर, यसपटक प्रचण्डले केही मन्त्रीहरू परिवर्तन गर्ने भित्री तयारीका साथ हलचल मच्चिने गरेर दिएको अभिव्यक्तिले तरंग उत्पन्न भएको छ । पोखरामा आफ्नै पार्टी निकटका पत्रकारहरूले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरू फेरबदल गरेर अघि बढ्नुपर्ने बताएका थिए । अघिल्लो पटक मन्त्री फेरबदलको कुरा गर्दा ओलीबाट ठेस खाएका प्रचण्डले यस पटक गृहकार्य गरेरै बोलेको नेकपाका एक नेताले बताएका छन् ।
‘वर्तमान सरकारका केही मन्त्रीहरू हेरफेर गरेर सरकारको कामलाई प्रभावकारी बनाउँदै अघि बढ्नुपर्छ’, उनले भनेका छन्, ‘सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे–जे समस्या छ, ती कुरालाई ध्यान दिएर, नमिलेका कुरा मिलाएर भएपनि सरकार अघि बढ्छ ।’
प्रचण्डले केपी ओली नेतृत्वको सरकारले जनताले अपेक्षा गरेजस्तै गरी काम गर्ने भन्दै सम्पूर्णलाई विश्वस्त हुन आग्रह पनि गरेका छन् । लालबाबु पण्डित, रघुवीर महासेठ, रविन्द्र अधिकारी, मातृकाप्रसाद यादव, रामबहादुर थापा लगायतका केही मन्त्रीहरूको कामकारबाहीबाट जनता सन्तुष्ट नरहेको आरोप लाग्दै आएका छन् । यी मन्त्रीहरूका बारेमा बेलाबेला पत्रपत्रिकाले कटु आलोचना गर्दै आएका पनि छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहीबार १४:३३