सूचनाको शक्ति - The Power Of Information

        

भारतीय खुसार्नी विस्थापित गर्दै नेपाली खुर्सानी

बाँके । भारतीय खुसार्नीको एकाधिकार रहेको नेपालगन्ज र कोहलपुरमा अहिले पर्याप्त रुपमा नेपालका पहाडी जिल्लाको खुसार्नी खपत हुन थालेको छ । खुर्सानीका लागि भारतीय उत्पादनमा भर पर्दै आएका खुद्रा तथा फुटकर तरकारी व्यापारीहरुले अहिले मध्य र सुदूरका पहाडी जिल्लाबाट खुर्सानी ल्याउने गरेका हुन् ।

भारतीय खुर्सानीमा किरा लाग्ने, कुहिने, ठेला र टुपा कुहिने, कालो दाग लाग्ने समस्या धेरै छ ।

कोहलपुर र नेपालगन्जमा अहिले बैतडी, सुर्खेत, सल्यान, रोल्पा, दैलेखबाट खुर्सानी आउने गरेको छ । अहिले भारतीय खुर्सानी आउने र ल्याउने क्रम न्यून भएको कोहलपुरका फुटकर तरकारी व्यापारी जगदिशप्रसाद गुप्ताले बताए । भारतीय खुसार्नी विस्थापित हुँदै गएको बताउदै उनले ११० देखि १२० रुपैँया प्रतिकिलो हरियो खुर्सानी पहाडी जिल्लाबाट आयात हुने गरेको जनाए ।
अहिले बजारमा सुकेको खुर्सानी किलोको २५० रुपैँया रहेको छ । बजारमा पहाडी जिल्लाबाट ल्याएको खुर्सानी प्रशस्त आउने गरेको छ । हरियो, ताजा, आगर्निक खुर्सानी आउने गरेको छ । तरकारी व्यवसायीका अनुसार भारतीय खुर्सानीमा किरा लाग्ने, कुहिने, ठेला र टुपा कुहिने, कालो दाग लाग्ने समस्या धेरै छ ।
तर स्वदेशी खुर्सानीमा त्यस्तो समस्या खासै देखिदैन । असोजदेखि जेठसम्म बजारमा स्वदेशी बजारको खुर्सानी अत्याधिक हुने गरेको कोहलपुर तरकारी तथा फलफुल थोक बजारका अध्यक्ष छविलाल भट्टराईले बताए । हरेक वर्ष कोहलपुरमा मात्र पहाडी जिल्लाबाट करोड मूल्यको खुर्सानी आउने गरेको उनले बताए ।
‘बाँकेमा खासै खुर्सानी उत्पादन हुँदैन,’ उनले भने, ‘पहाडी जिल्लाबाटै दैनिक व्यवसायीले ल्याउँछन् ।’ भारतीय खुर्सानीभन्दा नेपाली खुर्सानीको स्वाद फरक हुने उनको भनाई छ । अहिले उपभोक्ता पनि स्वदेशी खुर्सानी खोज्ने गरेको व्यवसायी बताउँछन् । भारतीय खुर्सानीभन्दा केही महंगो भए पनि स्वदेशी खुर्सानीको बजार विस्तार भइरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहीबार ०८:४५