सूचनाको शक्ति - The Power Of Information

        

किशोरमै राजनीतिमा हिंडे, युवामै गए प्रकाश

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाशको अन्तिम सेल्फी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाशको अन्तिम सेल्फी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र प्रकाश (साकार) दाहालले जत्तिको आलोचना युवा उमेरमा सायदै अहिलेका कुनै युवाले भोगेका होलान् । माओवादी शान्ति प्रक्रियामा आएपछि प्रकाश सँधै विवादमा परिरहे । कहिले आफ्नै विवादास्पद गतिविधिका कारण विवादमा परे भने कहिले विपक्षीहरुद्धारा प्रचण्डमाथि निशाना साँध्न प्रकाश विवादमा पारिए । जतिसुकै विवादमा परेपनि, विवादमा पारिएपनि स्व प्रकाश एक असल युवक थिए । आफ्ना कमजोरीप्रति उनी आफै सचेत र आत्मालोचित पनि थिए ।
जव बीना मगरसँगको सम्बन्धपछि उनी पार्टी कार्वाहीमा परे, त्यसलाई उनले सहर्ष स्वीकार गरे, उनी सहजरुपमा खेतिपाती र गाइपालनमा लागे । उनी आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित पनि थए । १८ कार्तिकको उनको फेसबुक स्टाटस हेर्दा पनि यो कुरा थाहा हुन्छ । आफ्नी जीवनसाथी बीना मगरले कञ्चनपुर–१ बाट टिकट पाएपछि जसरी फेरि प्रचण्ड परिवारप्रति आलोचना र प्रहार सुरु भयो, त्यसलाई पनि उनले सहजै स्वीकार गरेका थिए । उनका जे जति व्यक्तिगत कमजोरी थिए, त्यसका केही स्वभाविक कारण थिए । एउटा किशोरले आफ्नो परिवारबाट जेजस्तो लालनपालन पाउनुपर्छ, त्यसबाट उनी बञ्चित रहे ।
उनी जन्मदा पिता प्रचण्डको भूमिगत जीवन सुरु भइसकेको थियो । जव माओवादीले जनयुद्ध सुरु ग¥यो, त्यसपछि त झन् उनले बाबुआमाको सान्निध्य कमैमात्र पाउन सके । उमेर पुगेपछि उनी जनमुक्ति सेनामा भर्ति भए । र, युद्धको मोर्चामा सरिक भए । अन्य नेता र प्रचण्डमा के फरक छ भने, राजनीतिमा लागे पनि प्राय सबै नेताहरुले आफ्ना सन्तानको शिक्षादीक्षामा ध्यान दिए । माओवादीकै कुरा गर्ने हो भने, युद्धमा सरिक अधिकांस माओवादी नेताले आफ्नो छोराछोरीको शिक्षादीक्षामा ध्यान दिए । यसका विपरित प्रचण्डले छोराछोरीको शिक्षादीक्षामा भन्दा राजनीतिमा ध्यान दिए । उनले आफ्ना छोराछोरीलाई समेत युद्धमा सरिक गराए । राजतन्त्र समाप्तीका लागि भएको १० वर्षे सशस्त्र युद्धमा सरिक हजारौं युवाहरुमा प्रकाश दाहालपनि एक थिए । युद्धकालका केही तस्वीरहरले पनि माओवादी जनयुद्धमा उनको सक्रिय भूमिका प्रष्ट्याउँछन् ।
वालककालमा बाबुआमाको नियमित सान्निध्य गुमाएको र किशोर उमेरमा पढाई छाडेर युद्धमा सरिक भएका प्रकाशमा केही कमजोरी देखिनु स्वभाविक थियो । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै दुरदराजका गाउँबाट काठमाडौंको चकाचौंधमा आइपुगेकाले पनि प्रकाशमा केही कमजोरी देखिए । पारिवारिक तनाव अवश्य थियो । किनभने, छोरा सहित जेठी श्रीमति सिर्जना त्रिपाठी र कान्छी श्रीमति बीना मगरका पति थिए उनी । यस्तो तनावका बाबजुद प्रकाश पछिल्लो समय विवादमुक्त थिए । प्रचण्डको पछिल्लो प्रधानमन्त्रीत्व काललाई सफल बनाउन उनको भूमिका महत्वपूर्ण थियो । सामाजिक सञ्जालहरुमा सक्रिय रहेर उनले प्रचण्डका हरेक गतिविधिबारे जानकारी दिन्थे । जीवनमा धेरै उथलपुथल देखेका र भोगेका प्रकाश अव हामीमाझ छैनन् ।

हार्दिक श्रद्धाञ्जली प्रकाश दाहाल !

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतवार १०:१९