सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज विमानस्थलको स्तरोन्नति सुरु, असारभित्रै काम सकिने

बाँके । नेपालगन्ज विमानस्थलको स्तरोन्नति तीब्र गतिमा थालिने भएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले स्तरोन्नतिको शिलान्यास गरेका छन् । आउँदो असारसम्म सक्ने गरी निर्माणको काम अघि बढाइने विमानस्थलले बताएको छ ।
विमानस्थल स्तरोन्नतिपछि नेपालगन्ज दिल्ली उडान सुरु हुने मन्त्री अधिकारीले जानकारी दिएका छन् । बुद्ध एअरले नेपालगन्ज दिल्ली उडानको अनुमति पाइसकेको उनले बताए । स्तरोन्नति अन्तगरत पार्किङ र धावन मार्ग विस्तारको काम हुनेछ । स्तरोन्नतिपछि ६ वटा एटीआर ७२ जहाज पार्किङ गर्न सकिनेछ ।
केही समयदेखि विभिन्नखाले सुधारका कार्यक्रम थालेपछि नेपालगन्ज विमानस्थल व्यवस्थित र सफा देखिएको छ । यो क्षेत्रको सबैभन्दा पुरानो विमानस्थल भए पनि व्यवस्थित नहुँदा केही समयअघिसम्म यात्रुलाई सास्ती हुने गरेको थियो । शौचालय पर्याप्त र सफा नहुँदा टर्मिनल भवन बेलाबेलामा दुर्गन्धित हुने समस्या थियो । अहिले यो समस्या हल भएको छ ।
कार्यालयका अनुसार सरसफाइ, बगैंचा पुनर्निर्माण तथा केही प्रविधि थप गरेपछि विमानस्थल व्यवस्थित बनेको हो । टर्मिनल भवनमा दुईवटा नयाँ टेलिभिजन सेट जडान गरेको छ । यसले यात्रुलाई विमान कुर्न र समय बिताउन सजिलो भएको छ । विमानस्थलमा दुईवटै एक्सरे मेसिन सञ्चालनमा आएपछि यात्रुको सामान जाँच भरपर्दो र व्यवस्थित भएको छ ।
एक्सरे मेसिनमार्फत यात्रुहरूको झोलामा रहेका सामग्री डिस्प्ले बोर्डमा स्क्रिनिङ हुने भएकाले यात्रु र सुरक्षाकर्मी दुवैलाई सजिलो भएको छ । यहाँबाट तत्कालिन मध्य तथा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा नियमित उडान हुने भएकाले यसको सौन्दर्यमा जोड दिइएको छ । विमानस्थल क्षेत्रमा उम्रिएको झार र घाँस हटाएर जमिनको सतह मिलाउने काम पनि चालु वर्षमै गर्न थालिएको विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले नेपालगन्ज विमानस्थलबाट नेपाल एअरलाइन्स, तारा र गोमाले उडान भर्दै आएका छन् । यहाँबाट नेपाल एयरलाइन्सले सातामा दुई उडान भर्ने गरेको छ । रुकुमको चौरजहारी र सल्ले, मुगुको ताल्चा, डोल्पा, हुम्ला, जुम्ला र बाजुरामा नेपालगन्जबाट उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । बुद्ध, सौर्य र यती एयरलाइन्सले काठमाडौं उडान भर्ने गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १२:५७