सूचनाको शक्ति - The Power Of Information

        

डाक्टर भन्छन्, ‘उहाँ निकै तन्दुरुस्त हुनुहुन्छ’

काठमाडौं । छातीमा इन्फेक्सनका साथै शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुधबार साँझ जानकारी दिँदै अवस्था थप सुधार भएको बताएको हो ।
अहिलेका रिपोर्टहरुले प्रधानमन्त्री केही दिनमा बालुवाटार फर्किने संकेत गरेको उनले बताएका छन् । स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उपचार टोलीका संयोजक प्रा.डा. अरुण सायमिले अवस्था थप सुधारोन्मुख रहेको बताए । उनले भने, ‘उहाँ निकै तन्दुरुस्त हुनुहुुन्छ ।’
प्रधानमन्त्रीले आफूलाई डिस्चार्ज गर्न आग्रह गरिरहे पनि एन्टिवायोटिक चलाइरहेका कारण डिस्चार्ज भने यकिन नभएको पनि डा। सायमिले बताए । प्रधानमन्त्री स्वयंले समेत डिस्चार्जका लागि आग्रह गरे पनि अस्पतालबाट निवास लैजाँदा हुने सम्भावित संक्रमणलाई लिएर चिकित्सकले केही दिन अस्पतालमै रहन सुझाव दिएका हुन् ।
चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीले अस्पतालमै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग बिहान भेटघाटसमेत गरेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १४:५२