सूचनाको शक्ति - The Power Of Information

        

भेरी अञ्चल अस्पतालमा इन्डोर ब्लक बनाउन अर्थ मन्त्रालयको सहमति

बाँके । सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको विशेष पहलमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा विरामीहरुका लागि इन्डोर ब्लक निर्माण हुने भएको छ । सहरी विकास मन्त्री राईको पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।
सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले इन्डोर ब्लक निर्माणका लागि स्वास्थ्य मन्त्रालयले सहमति दिएको जानकारी दिए । उनले भने, ‘यो आर्थिक बर्षमा बजेट विनियोजन नभए पनि इन्डोर ब्लक निर्माणको सहमति आइसकेको छ । आगामी आवमा बजेट विनियोजन हुन्छ ।’
स्वास्थ्य मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो । सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको मन्त्री राइले जानकारी दिए ।
२८ परिवार क्षमताको आवास गृह बनाउने सन्दर्भमा भने अर्थ मन्त्रालयले तत्काललाई श्रोत अपर्याप्त रहेको भन्दै सहमति दिन नसकेको मन्त्री राईको भनाई छ । यसअघि भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणका लागि अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै मन्त्री राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफू निरन्तर प्रयत्नरत रहेको बताए । उनले भने, ‘अस्पतालको स्तरबृद्धि गर्दै ५०० शैय्याको बनाउन पहल भइरहेको छ । चाँडै नै अत्याधुनिक सुविधायुक्त अस्पताल बनाउन मेरो पहल जारी रहनेछ ।’
अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र विरामीहरुका लागि इन्डोर भवन बनाउन १२ बर्ष अघिदेखि पहल भइरहेको भए पनि सार्थक हुन सकेको थिएन । हाल १५० शैय्या रहेको अस्पतालमा विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता देखिएको मेडिकल सुपेरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिए ।
उनले हाल चिकित्सकहरुको आवास रहेको १, २ र ३ नम्बर व्लकमा विरामीहरुका लागि इन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिए । निर्वाचनका क्रममा भेरी अञ्चल अस्पताललाई ५०० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता अनुसार काम भइरहेको मन्त्री राईले जानकारी दिए ।
संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागी मन्त्री राईले आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालयमार्फत भेरी अञ्चल अस्पतालको स्तरोन्नतिका लागि अग्रसरता देखाएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार ११:१०