बाँके (खजुरा) । खजुरा गाउँपालिकामा लैङ्गिक रुपान्तरण तथा समावेशी शिक्षा परियोजना अन्तरगत अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ का बिषयमा सरोकारवालाहरुसँग एकदिने अभिमूखिकरण गोष्ठी सम्पन्न भएको छ ।
गाउँपालिकासँगको समन्वयमा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित गोष्ठीमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा भएका ब्यवस्था र गाउँपालिकाले शैक्षिक सुधारका लागि तयार गरिएको प्रतिबद्धताका विषयमा छलफल गरिएको छ ।
गोष्ठीमा बोल्दै गाउँपालिका उपाध्यक्ष एकमाया बिकले खजुरा गाउँपालिकालाई अनिवार्य र निशुल्क शैक्षिक केन्द्रका रुपमा विकास गर्ने बताइन् । उनले गाउँपालिकामा भएका सबै विद्यालयको शैक्षिक सुधारका साथै अनिवार्य तथा निशुल्क शिक्षाका लागि अघिबढ्ने बताइन् । उनले शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको भन्दै त्यसका लागि विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको पनि उत्तिकै जिम्मेवारी रहेको उपाध्यक्ष विकले बताइन् । उनले भनिन्, ‘शैक्षिक विकासका लागि सबैले कर्तव्यबोधका साथ अघि बढ्नुपर्छ । यसले शैक्षिक क्षेत्रलाई सुधार गर्न सकिन्छ ।’
प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जका सिकाई संयोजक सञ्जिव जोशी, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, शिक्षा शाखाका विद्यालय निरिक्षक विश्वराज ढकाल लगायतले बोलेका थिए । कार्यक्रम अधिकृत कल्पना अधिकारीले सञ्चालन गरेको गोष्ठीमा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका पदाधिकारी, गाउँ शिक्षा समितिका पदाधिकारी, गाउँपालीका शिक्षा शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
।