सूचनाको शक्ति - The Power Of Information

        

नौवस्तामा औद्योगिक क्षेत्र विस्तारको काम अघि बढ्यो, संरचना निर्माणमा भने अन्यौलता

बाँके । बाँकेको नौवस्तामा निर्माण सुरु भएको नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको कार्यालय सञ्चालनमा आएसँगै औद्योगिक क्षेत्र विस्तारको काम अघि बढेको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार रु.६ अर्ब लागत रहेको औद्योगिक क्षेत्र विस्तारका लागि चालु आर्थिक वर्षका लागि जम्मा रु.१५ करोड बजेट विनियोजन भएको छ ।
औद्योगिक क्षेत्र विस्तारका लागि केन्द्र सरकारले रु.१० करोड र प्रदेश ५ को सरकारले रु.५ करोड बजेट विनियोजन गरेको छ । यसवर्ष यही बजेटमा काम गरी आउँदो वर्ष गर्नुपर्ने काम र लागत रकमसहित प्रस्तावना पेश गरिने नौवस्ता औद्योगिक क्षेत्र परियोजनाका प्रमुखसमेत रहेका नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिए ।
नेपालगन्ज औद्योगिक क्षेत्रभन्दा १९ गुणा ठूलो क्षेत्रफलमा निर्माणाधीन यो औद्योगिक क्षेत्रमा पूर्वआशयपत्र पेस गर्ने उद्योगीले चाउचाउ, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, जडीबुटीजन्य, खाद्यान्न, फर्निचर लगायत छन् । त्यस्तै प्लाष्टिकजन्य, पाइपजन्य, पानी, जडिबुटी जन्य, नुडल्स, डेरी, बेवी फुड, हर्वल, टेक्सटायसल, मेटल, सुगर मिल, रायस एण्ड आयल, कोल्डडिंक्स, साबुनलगायतका उत्पादनमूलक उद्योग सञ्चालन गर्ने तयारी छ ।
औद्योगिक क्षेत्रले न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी उद्योगलाई जग्गा मात्र उपलब्ध गराउँदा भने छिटोमा दुई वर्षभित्रै औद्योगिक क्षेत्र सञ्चालन गर्न सकिने परियोजनाले जनाएको छ । औद्योगिक क्षेत्रको डीपीआर निर्माणमा एक उद्योगका लागि ९ देखि ३० रोपनीसम्म क्षेत्रफल छुट्टाइएको छ । परियोजनाले अहिले औद्योगिक क्षेत्र परिसरमा रु.६० लाखको लागतमा ८० प्रतिशत तारबार गरेको छ ।
औद्योगिक क्षेत्रमा १२२ जना उद्योगीहरुले उद्योग सञ्चालनका लागि पूर्व आशयपत्र दर्ता गरेका छन् । नौवस्तामा ३३८ बिघा (४ हजार ३९४ रोपनी) क्षेत्रफलमा झण्डै २०० हाराहारीमा उद्योग स्थापना हुनसक्ने प्रमुख पुनले बताए । बहुराष्ट्रिय कम्पनीको उद्योग भए झण्डै १२५ को हाराहारीमा मात्रै उद्योग स्थापना हुनेछन् । तर अहिलेसम्म बहुराष्ट्रिय कम्पनीका तर्फबाट पूर्व आशयपत्र दर्ता भएको छैन ।
‘सडकको ट्रयाक खोलेर सामान्य प्लट निर्माण गरी औद्योगिक क्षेत्र र व्यवसायीले सँगसँगै निर्माण गरेमा दुई वर्षभित्र औद्योगिक क्षेत्र सञ्चालन हुने अपेक्षा गरेका छौं,’ प्रमुख पुनले भने, ‘तर सम्पूर्ण पूर्वाधार तयार गरेर उद्योग सञ्चालन गर्नुपर्ने अवस्थामा भने पाँच वर्षपछि मात्रै उद्योग सञ्चालन हुने अवस्था छ ।’ सरकारले २०७२ साल चैत १ गते औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।
औद्योगिक क्षेत्रका लागि सरकारले ५२५ बिघा क्षेत्रफल जगा दिने निर्णय गरेकोमा बाक्लो बस्ती भएका कारण अहिले ३३८ बिघामा निर्माण कार्य सुरु भएको हो । ३३८ बिघाभित्र झण्डै दुईसय घरधुरीको बसोबास भएका कारण कतिपय स्थापनमा तारबारमा समेत अवरोध भएको छ । उक्त क्षेत्रमा झन्डै साढे दुई हजारदेखि तीन हजारको हाराहारीमा घरटहरा निर्माण गरिएका छन् ।
अतिक्रमित बस्ती कसरी हटाउने भन्ने विषय पनि अन्योलमा नै छ । जग्गा धनी प्रमाणपत्र भएकालाई मुआब्जा दिएर व्यवस्था गर्न सकिने भए पनि अतिक्रमण गर्नेलाई व्यवस्थापन गर्ने विषयमा समस्या भएकाले ३३८ बिघा क्षेत्रफलमा नै प्रारम्भिक काम थालिएको परियोजना प्रमुख पुनले जानकारी दिए । अतिक्रमित बस्ती हटाउन सकिए औद्योगिक क्षेत्र अझै विस्तार गर्न सकिने उनले बताए ।
नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयमा प्रमुख, प्राविधिकसहित तत्काल चारजना कर्मचारी खटिएका छन् । कर्मचारी खटिएपछि कामले गति लिने विश्वास गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले अबको एक बर्षभित्र उद्योगीलाई जग्गा उपलब्ध गराएर पाँच बर्षभित्र सबै निर्माण कार्य पुरा गर्ने योजना रहेको बताए ।
औद्योगिक क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका घरहरुको ब्यवस्थापन गरिने बताउँदै अध्यक्ष बस्नेतले औद्योगिक क्षेत्रले कम्तीमा २० हजारलाई रोजगारी दिने भएकाले सहयोग गर्न स्थानीयलाई आग्रह गरे । उनले भने, ‘अतिक्रमित घरटहराहरु हटाइदिनुस्, हामी पूर्वाधार निर्माणका काम थाल्छौं । यसले स्थानीयहरुको रोजगारीमा समेत टेवा पु¥याउने छ ।’

संरचना निर्माणमा अन्यौलता
संरचना निर्माणका लागि दुई वटा मोडल आवश्यक पर्ने भए पनि हालसम्म कस्तो मोडलमा जाने भन्ने टुंगो लागेको छैन । मोडल प्रष्ट नभए हाल विनियोजित बजेटबाटै पूर्वाधार निर्माणका काम थाल्ने औद्योगिक क्षेत्रको तयारी छ । २०३० सालमा बाँकेको स्थापना गरिएको नेपालगन्ज औद्योगिक क्षेत्रले भने मिश्रित खालको मोडल आत्मसात गरेको छ ।
एउटा मोडल औद्योगिक क्षेत्रले उद्योगका लागि आवश्यक सम्पूर्ण सेट बनाउँछ भने अर्को औद्योगिक क्षेत्रले उद्योग सञ्चालनका लागि सडक, विद्युत, खानेपानी, बाउन्ड्री, ग्रिन बेल्टलगायत पूर्वाधार निर्माण गरी आवश्यक जग्गा उपलब्ध गराएपछि उद्योगले आफै पूर्वाधार निर्माण गर्छ । औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ३८ उद्योगमध्ये २२ वटा उद्योगको भवन औद्योगिक क्षेत्रले नै निर्माण गरेको थियो । अन्य उद्योगले भने आवश्यकता अनुसार भवनलगायत पूर्वाधार आफैले बनाएका हुन् ।
तर औद्योगिक क्षेत्र विस्तारको तयारी थालिए पनि कुन मोडलमा जाने भन्ने अन्यौलता रहेको छ । औद्योगिक क्षेत्र विस्तारका लागि उद्योगीले पूर्वआशयपत्र बुझाइसक्दा पनि निर्माण हुने मोडलका विषयमा अन्योलता देखिएको हो । ‘औद्योगिक क्षेत्र विस्तार कस्तो संरचनामा निर्माण हुने भन्ने विषयमा प्रष्ट भएको छैन,’ नौबस्ता औद्योगिक क्षेत्र परियोजना प्रमुख पुनले भने, ‘कस्तो मोडलमा जाने भन्ने अझै प्रष्ट भइसकेको छैन ।’

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार ०३:०८