सूचनाको शक्ति - The Power Of Information

        

बर्षौंपछि तहसनहस बन्दै प्रतिष्ठा, पारिवारिक जीवन तहसनहस हुनसक्ने खतरा

काठमाडौं । केही बर्षअघि नेपालको चलेको मिडियामा कार्यरत एकजना महिला पत्रकारले आफ्ना अगुवा सहकर्मीलाई यौनहिंसा गरेको अभियोग लगाउँदा पुरुष पत्रकारको व्यावसायीक र पारिवारिक सम्बन्ध विग्रियो । उनले जागिरबाट हात धुनमात्र परेन, परिवारमा पनि राम्रो सम्बन्ध रहेन ।
ति महिला पत्रकारले आपसी सहमतिका आधारमा उनीसँग सम्बन्ध बनाउने र काममा लाभ लिने गरेको कतिपय सहकर्मीले बताए । तर, एक पटक लागेको यौनहिंसाको दागका कारण उनको व्यावसायीक करिअर नै ध्वस्त भयो । ति पत्रकार महिलाले कुनै गैर सरकारी संस्थामा आफुलाई अब्बल उभ्याउनका लागि उक्त आरोप लगाएकी थिइन् ।
उक्त आरोपले कसैको व्यावसायिक जीवन नै ध्वस्त हुन्छ भन्ने उनले हेक्का राखेकी थिइनन् । एकजना अब्बल पत्रकारलाई घरेलु कामदारलाई यौनहिंसाको अभियोग लाग्दा केही बर्ष जेलमा बस्नुपरेको थियो । उनी निर्दोष सावित भएर बाहिर निस्किए पनि व्यावसायीक र सामाजिक प्रतिष्ठामा ठूलो धक्का लागेको छ । एउटा चलेको टेलिभिजनमा उनी सामाचारीय विभागको नेतृत्वमा थिए ।
मिडिया क्षेत्रमा भएका यौनहिंसाका कतिपय आरोपका यी पृष्ठभुमी अहिले विश्वमा चलिरहेको ‘ह्यासट्याग मिटु’ अभियानका प्रभावसँग जोडिन्छन् । केही दिनअघि मात्र पत्रकार रश्मिला प्रजापतिले १५ बर्षअघिको घटनालाई कोट्याउँदै प्रदेश ३ का मन्त्री तथा तत्कालिन काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापितले यौनहिंसा गरेको अभियोग लगाइन् ।
उनले मिटु अभियानअन्तरगत नै घटनाको खुलासा गरेकी हुन् । तर यसले उनको र मन्त्री स्थापितको पनि सामाजिक प्रतिष्ठामा प्रभाव पारेको छ । केही साताअघि पूर्वसञ्चारकर्मी मीना कैनीले पत्रकार भएर काम गर्दा मौखिक र साङ्केतिक यौनहिंसाको सामना गर्नुपरेको सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
पत्रकार सुबिना श्रेष्ठले पनि समाचार सङ्कलनका क्रममा उनीमाथि भएका हिंसाबारेसामाजिक सञ्चालमा र पछि एउटा दैनिक पत्रिकामा पनि त्यस्ता विवरणहरू खुलाएर लेख नै लेखिन् । तर दुवैले पीडकको विवरण भने खुलाएनन् । करिब १२ वर्षअघि रेडियोमा काम गर्दा त्यहाँका हाकिमले दुर्व्यवहार गर्न खोजेको भन्दै लेखिका सरला गौतमले प्रतिवाद गरेको स्मरण गर्दै भनिन्, ‘एउटा अन्तर्वार्ता अनुवाद गरुँ सर भन्दा उहाँले यो अन्तर्वार्ता हामी कतै पर गएर गर्नुपर्छ,’ भन्नुभयो ।
‘बर्षौंपछि सार्वजनिक हुने यस्ता घटनाले कानुनी कारबाहीभन्दा पनि सामाजिक प्रतिष्ठालाई गिराउने काम गरेको छ । यस्ता बयान कतिपय महिलाहरूले नियोजित रूपमा पनि लगाउने गरेका छन्, जसको प्रमाण हुँदैन,’ एक जना सामाजिक अभियन्ताले भने, ‘महिला अधिकारका नाममा स्थापित गैरसरकारी संस्थाका अभियान र विश्वमा चलेको हावाको प्रभावले नेपाली समाजलाई पनि छुन थालेको छ ।’
विश्वभर गत बर्षदेखि सुरु भएको यौनजन्य दुर्व्यवहारविरुद्धको अभियान ‘मिटु’ले पुराना यौन सम्बन्धका विषयलाई उजागर गरेका कारणले कतिपयको पारिवारिक जीवन तहसनहस हुनसक्ने सामाजिक खतरालाई नजरअन्दाज गरिएको विश्लेषण गर्न थालिएको छ ।
खासगरी भारतमा यसको प्रभाव जति बलियो भयो, त्यसले नेपालमा पनि केही पत्रकार महिला, अधिकारकर्मी र कलाकर्मीले पुराना घटनालाई कोट्याउन थालेका छन् । भारतमा अभिनेता नाना पाटेकरमाथि अमेरिकाबाट १० बर्षपछि फर्किएकी अभिनेत्री तनुश्री दत्ताले अभियोग लगाएकी थिइन् । यसपछि विस्तारै अन्य अभिनेत्रीले पनि मिटु अभियानमा साथ दिँदै पुराना यौनहिंसाका अभियोगका सन्दर्भमा मिडियामा चर्चा चलाए ।

नेपालमा कति प्रभावकारी बन्दैछ ?
नेपालमा मिटु अभियानको प्रभाव सामान्य मात्र देखिएको छ । बलात्कारविरुद्धको सामाजिक आन्दोलन र न्यायको आन्दोलन चलिरहेका कारणले पनि नेपालमा मिटु अभियान प्रभावकारीताका हिसाबमा त्यति धेरै नरहेको बताइन्छ । यद्यपि, पेशागत महिलाहरू भने खुल्न थालेका छन् ।
सामाजिक संरचना र यौन दुर्व्यवहारसम्बन्धी घटनामा देखिएको दण्डहीनताका कारण नेपालमा पीडकबारे खुलेर बोल्ने अवस्था नभएको कतिपय अधिकारकर्मीलाई उदृत गर्दै बीबीसी नेपालीले लेखेको छ । गतवर्ष खासगरी हलिवूडभित्र भएको यौन दुव्र्यवहारका घटना सार्वजनिक रूपमा देखापर्न थालेपछि त्यसले विश्वभरि नै #MeToo अर्थात् यौन दुर्व्यवहारको शिकार ‘म पनि’ भन्ने अभियान शुरू भयो ।
विभिन्न पेशा व्यवसायमा काम गर्ने केही महिलाले खुलेरै सामाजिक सञ्जालमा आफूमाथि दुव्र्यवहार गर्नेहरूको नाम सार्वजनिक गरे । राज्यमन्त्रीदेखि, प्रख्यात कलाकार र पत्रकार समेत उक्त अभियान अन्तर्गत आरोपितको सूचीमा परे र तीमध्ये कतिपय पदबाट राजीनामा दिन बाध्य भए । केही महिलाले आफ्ना सहकर्मीबाट दुर्व्यवहारमा परेका घटना सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमा चलेको अभियान र यसले निम्त्याएको बहसले पनि समाजमा ल्याएको तरङ्गलाई सकारात्मक मान्नुपर्ने अधिकारकर्मी राधा पौडलेको भनाइ छ । उनलाई उदृत गर्दै बीबीसले लेखेको छ, ‘यो अभियानलाई समर्थन गर्दै आफ्नो पीडा सार्वजनिक गरेका सबैले न्याय पाएका छैनन् । तर यो महिलाको समस्या हो भन्ने धारणामा परिवर्तन आउँछ र सबैलाई यौन दुर्व्यवहारविरुद्ध बोल्ने वातावरण बनाउँछ ।’

प्रभाव र असर
मिटु अभियानले कतिपय हिंसालाई बाहिर ल्याएर प्रभावमा राखे पनि कतिपयको सामाजिक प्रतिष्ठालाई असर गरेको छ । यो अभियानले सत्यतथ्य घटना बाहिर आउनुमा सहयोग गरे पनि नियोजित, सहमति र स्वीकारका हिसाबमा स्थापित भएका सम्बन्धलाई ‘इगो’ बाहिर ल्याउने स्थान पनि दिएको कतिपयको बुझाई छ ।
यौनहिंसा, बलात्कारविरुद्ध जनमानसको धारणा निक्कै कठोर बनेको, आन्दोलन चलेका बेला सार्वजनिक हुने यस्ता घटनाले प्रतिष्ठित ठाउँमा काम गर्नेहरूको नियत उदांगो पारेको छ । तर, पुराना घटनाका नाममा बदनामीको पगरी समेत बोक्नुपर्ने अवस्था खाएको बताइन्छ ।

 

 

#दैनिक नेपाल

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०६:१७