काठमाडौं । उनीहरूले वर्षौंदेखि उन्मुक्ति पाउँदै आए । जो उनीहरूका शिकार भए, तिनले न्याय पाएनन् । न्यायको आस पनि गरेनन् । वर्षौं पुरानो यो नियति एकदिन अचानक बदलियो । हलिउडका नामी फिल्म निर्माता हार्भे विन्स्टनविरुद्ध थुप्रै अभिनेत्रीले यौन उत्पीडन र दुव्यर्वहारको आरोप लगाए । न्यूयोर्क टाइम्सले ती अभिनेत्रीहरूका बयान सिलसिलेवार छाप्यो ।
हलिउडका हस्ती पहिलोचोटि निरीह साबित भए । उनले सार्वजनिक माफी मागे । हलिउडबाट उनको प्रतिष्ठा हरायो । यो सन् २०१७ अक्टोबरको घटना हो । त्यसयता थुप्रै महिलाले यौन उत्पीडनविरुद्ध आवाज उठाएका छन् । ‘ह्यासट्याग मिटू’ (#मिटू) अन्तर्राष्ट्रिय अभियान बनेको छ । हलिउडदेखि राजनीतिक क्षेत्रका ठूल्ठूला नाम मुछिएका छन् ।
महिलामाथिको यौनहिंसाप्रति सामाजिक जवाफदेहिता बढेको छ । अन्यायविरुद्ध आवाज उठाए ढिलोचाँडो न्याय पाइन्छ भन्ने चेत खुलेको छ । यसै सन्दर्भमा न्यूयोर्क टाइम्सले हार्भे विन्स्टनको घटना सार्वजनिक भएयता यौन उत्पीडनको आरोप लागेका अमेरिकी हस्तीहरूको तथ्यांक विश्लेषण गरेको छ । उक्त विश्लेषणअनुसार एक वर्षयता २०१ जना प्रतिष्ठित पुरुषले जागिर गुमाएका छन् ।
विन्स्टनसहित केहीविरुद्ध फौजदारी अभियोग लागेको छ । जागिर गुमाएका पुरुषलाई प्रतिस्थापन गर्नेमा झन्डै आधा महिला छन् । अहिलेसम्म १२३ जनाको पदमा नयाँ नियुक्ति गरिएकामा ५३ महिला छन् भने ७० पुरुष । यसबाहेक कम्तीमा ९२० जनाविरुद्ध कुनै न कुनै यौन दुर्व्यहारको आरोप छ । महिलामाथि हुँदै आएको यौन उत्पीडन तथा दुव्र्यवहारविरुद्ध यो अहिलेसम्मकै ठूलो छलाङ हो ।
विन्स्टनको घटना सार्वजनिक हुनुअघि यस्तै आरोप लागेर पद गुमाएका व्यक्तिको संख्या निकै कम छ । त्यसअघिको एक वर्षमा ३० जनाभन्दा थोरै प्रतिष्ठित व्यक्तिलाई यौन उत्पीडन आरोपमा बर्खास्त गरिएको पाइन्छ । फक्स न्यूज च्यानलका कार्यक्रम प्रस्तोता बील ओ’रिली तिनैमध्ये एक हुन् । सन् २०१७ अप्रिलमा उनले राजीनामा दिएका थिए । बीलको राजीनामा एउटा पूर्वकम्पन मात्र थियो ।
त्यसपछि त आरोप, राजीनामा र बर्खासीको लामो सिलसिलै चल्यो । ‘हामीले यस्तो पहिले कहिल्यै देखेका थिएनौं,’ क्यालिफोर्निया विश्वविद्यालयमा लैंगिक शिक्षा अध्ययन गरेका कानुन प्राध्यापक जोन विलियम्सले भने, ‘महिलाहरूलाई सधैं जोखिमपूर्ण रूपमा हेरिन्थ्यो । यो अभियानपछि पुरुषहरू त्योभन्दा बढी जोखिमपूर्ण अवस्थामा देखिन थालेका छन् ।’
यति हुँदाहुँदै कार्यालयहरूमा यौन दुर्व्यवहारका घटना कम भएका छैनन् । संघीय कानुनले महिलाहरूको ठूलो समूहलाई यौनहिंसाबाट सुरक्षित गर्न सकेको छैन । स्वतन्त्र कामकाजी वा १५ जनाभन्दा कम कर्मचारी भएका कम्पनीमा महिलाको अवस्था चिन्ताजनक छ । कार्यालयहरूका निम्ति लागू नयाँ नीतिले यसलाई सम्बोधन गर्न खोजेको छ । तर हाम्रो प्रवृत्तिमै सुधार नभएसम्म यसको प्रभाव कम देखिन्छ ।
मिटू अभियानले केही हदसम्म समाजको शक्ति संरचनामा कम्पन ल्याएको छ । राजनीति, सिनेमा, सञ्चारजस्ता क्षेत्रमा यो कम्पन अझ बढी छ । यी सबैले देख्ने क्षेत्र हुन् । कतिपय आरोपित व्यक्ति आ–आफ्नो क्षेत्रका ‘नायक’ थिए । धेरैले ‘रोलमोडल’ मानेका थिए । उनीहरूको पेसागत अवसानले अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्न सक्छ । त्यस्ता व्यक्तिको ठाउँ महिलाहरूले लिएको तथ्यांकले सामाजिक रूपान्तरणमा अझ महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
न्यूयोर्क टाइम्सको विश्लेषणअनुसार जागिरबाट हात धोएका २०१ पुरुषमध्ये ४३ प्रतिशतलाई महिलाले प्रतिस्थापन गरेका छन् । तीमध्ये एकतिहाइ सञ्चार माध्यममा छन् भने एकचौथाइ सरकार र बाँकी मनोरञ्जन तथा कला क्षेत्रमा छन् । उदाहरणका लागि, ‘हाउस अफ कार्डस्’ को मुख्य भूमिकामा केभिन स्प्यासीलाई रविन राइटले प्रतिस्थापन गरेका छन् । ‘द पेरिस रिभ्यू’ का सम्पादकमा लरिन स्टिनको ठाउँ इमली निमन्सले लिएकी छन् ।
मिनिसोटाको सिनेटरमा अल फ्रान्किनको सट्टा टिना स्मिथ आएकी छन् । यौन उत्पीडन र दुव्यर्वहारको घटनाले जुन संस्थामा हलचल ल्याइदियो, त्यहाँ महिलाहरूको शक्ति बढेको छ । महिला नियुक्तिले नै परिवर्तन सुनिश्चित गर्छ भन्ने छैन । कतिपय ठाउँमा महिलाहरूले नै दुव्र्यवहार गरेका घटना छन् । महिलामाथिको दुर्व्यवहारलाई महिलाले नै ढाकछोप पनि गर्छन् । कतिपय अवस्थामा संस्थामाथि संकट आइपर्दा वा नेतृत्व असफल हुने सम्भावना बढी हुँदा महिलालाई नेतृत्व सुम्पने प्रवृत्ति छ ।
अहिलेको घटना त्यसैको निरन्तरता हुनसक्छ । हार्भे विन्स्टनको अवसानपछि महिलाहरू माथिल्लो पदमा पुग्ने क्रम बढेको छ । यो सकारात्मक संकेत हो । तर, अमेरिकी संस्थाहरूको कार्यकारी तहमा महिला प्रतिनिधित्व अझै एकदमै कम छ । पुरुषको तुलनामा महिलाहरूले नेतृत्व गरेको कार्यालयमा काम गर्ने वातावरण सम्मानजनक हुने विभिन्न अध्ययनले देखाउँछ । त्यस्तो ठाउँमा दुव्यर्वहारजस्ता घटना कमै हुन पाउँछन् । भए पनि महिलाहरू आवाज उठाउन समर्थ हुन्छन् ।
महिला नेतृत्व भएको ठाउँमा तल्लो तहका महिलाले बढी प्रोत्साहन पाउँछन् । उनीहरूको पारिश्रमिक र सुविधा पुरुष बराबर हुन्छ । जहाँ महिला र पुरुषले बराबर हैसियतमा काम गर्ने वातावरण पाउँछन्, त्यस्तो कार्यालय बढी नाफामा रहेको अध्ययनले देखाउँछ । अध्ययनले भन्छ, ‘दैनिक जीवनमा धेरैजसो किनमेल महिलाहरूले नै गर्छन् । यसले महिलाको आर्थिक निर्णय लिने खुबी पुरुषको दाँजोमा बढी हुन्छ । घरव्यवहारको अनुभवले खारिएका महिलाहरू कुनै संस्थाको निर्णायक तहमा पुगे, संस्थागत विकासमा पनि सकारात्मक प्रभाव पार्छ ।’अध्ययनले यो पनि भन्छ, ‘सरकारी निकायमा पुरुष कर्मचारीभन्दा महिलाहरू बढी समावेशी र सहकारी हुन्छन् । महिला, बालबालिका तथा समाज कल्याणका नीति धेरैजसो महिला कर्मचारीबाटै प्रवर्द्धन भएका छन् ।’ ‘यदि तपाईं सबैप्रति सद्भाव राख्नुहुन्छ र सबैसँग राम्रो सम्बन्ध बनाउनुहुन्छ भने गाह्रो काम पनि सजिलै पूरा हुन्छ,’ डेमोक्रेट सिनेटर टिना स्मिथले भनिन्, ‘नीति निर्माणको तहमा बस्नेको निम्ति सफलताको आधार नै यही हो ।’
उनले आफू र अलास्काका ‘रिपब्लिकन’ सिनेटर लीसा मुर्कोस्कीको उदाहरण दिइन् । उनीहरूले माध्यमिक विद्यालयमा छँदा ट्रान्स–अलास्का पाइपलाइनसम्बन्धी परियोजनामा सँगै काम गरेका थिए । त्यतिबेलाको घनिष्ठताले गत महिना मानसिक स्वास्थ्यसम्बन्धी विधेयक ल्याउन मद्दत गरेको उनी बताउँछिन् । उता, सञ्चार र मनोरञ्जन क्षेत्रमा पुरुषलाई प्रतिस्थापन गरेका महिलाहरूबाट कामको तौरतरिकामै परिवर्तन देखिन थालेको छ ।
अमेजन स्टुडियो प्रमुखमा रोय प्राइसलाई प्रतिस्थापन गरेका जेनिफर साल्कले भनेकी छन्, ‘अमेजनलाई महिलाकेन्द्रित ठूलो स्तरका कार्यक्रमको खाँचो छ ।’ उनले आफू नेतृत्वमा आएलगत्तै लीना वेथ र निकोल किडम्यान लगायत लोकप्रिय कलाकारसँग सम्झौताको घोषणा गरेकी छन् । यस्तै उदाहरण सार्वजनिक रेडियो कार्यक्रम ‘द टेकअवे’ मा पनि भेटिन्छ । त्यहाँ जोन होकनबेरीको ठाउँ तान्जिना भेगाले लिएकी छन् ।
तान्जिनाले कार्यक्रम चलाउन थालेयता लैंगिक विषयमा थुप्रै शृंखला प्रसारण भएका छन् । उनी पहिलेदेखि त्यहाँ लैंगिक विषय हेर्दै आएकी थिइन् । नेतृत्वमा पुगेपछि अब राष्ट्रिय बहसको विषय बनाउने उनले बताएकी छन् । ‘म आफू महिला भएकीले मात्र लैंगिक विषयमा जोड दिएको होइन,’ सिएनएन र न्यूयोर्क टाइम्सका पूर्व संवाददाता तान्जिना भन्छिन्, ‘यसबारे बहस हुनैपर्ने खाँचो थियो ।’
बढुवा भएर माथिल्लो तहमा पुगेका यी महिलाले आफ्नो तर्फबाट परिवर्तनको सुरुआतसम्म गर्न सक्छन् । किनभने, उनीहरूले जुन प्रणालीमा काम गर्नुपर्छ, त्यहाँ पुरुषकै वर्चश्व छ । जागिरबाट निकालिएका वा राजीनामा दिएकामध्ये १० प्रतिशतभन्दा बढीले पुनः पहिलेकै हैसियतमा फर्कने प्रयास गरेका छन् । यसको निम्ति कम्तीमा आफ्नो व्यवहार सुधारेको विश्वास दिलाउनुपर्छ भन्ने पनि उनीहरूले जरुरी ठानेनन् । धेरैले त पद गुमाए पनि आर्थिक हैसियत कायम छ ।
विन्स्टनको अवसान र #मिटू अभियानपछि पनि यस्तो अवस्था रहनुले अमेरिकी समाजको पुरुषकेन्द्रित शक्ति संरचना झल्काउँछ । ‘यौन उत्पीडनका शिकार महिलाहरूले जुन मानसिक पीडा झेले, पुरुषहरूले कहिल्यै त्यसबाट गुज्रिनुपरेन,’ #मिटू अभियानका संस्थापक तथा सामाजिक अभियन्ता ताराना ब्रुकेले भनिन् । तारानाले यौनहिंसा प्रभावितलाई सशक्तीकरण गर्ने उद्देश्यले सन् २००६ मा मिटू अभियान सुरु गरेकी थिइन् । त्यसको ११ वर्षपछि जब महिलाहरूले आफूमाथि भएका यौन उत्पीडन र दुर्व्यवहारको खुलासा गर्न थाले, तब #मिटू अभियानले तीव्रता लिएको हो ।
‘यति ठूलो अभियान चल्दा पनि एकदमै कम व्यक्तिले मात्र आफूले गरेका दुर्व्यवहारको जिम्मेवारी लिँदै पीडित पक्षसँग सार्वजनिक क्षमायाचना गरेका छन्,’ उनले भनिन् । यसबीच पुरुषलाई प्रतिस्थापन गर्दै माथिल्लो तहमा पुगेका महिलाले ‘कार्यकारी भूमिका निर्वाह गर्न आफूहरू सक्षम रहेको’ बताएका छन् । ‘हामीलाई माथिल्लो तहमा बढुवा गरिनुको कारण हामी काममा दक्ष भएर हो,’ रेडियो कार्यक्रम प्रस्तोता तान्जिनाले भनिन्, ‘हामीसँग क्षमता छ । अनुभव छ । अनुशासन छ । इमान छ । मूल्य–मान्यता छ । र, हामी आफ्नो भूमिका निर्वाह गर्न सक्षम छौं ।’
#द न्यूयोर्क टाइम्स
।