सूचनाको शक्ति - The Power Of Information

        

टीकामा प्रधानसेनापतिले सलाम ठोक्ने ठाउँ बनाइदिँदा राष्ट्रपतिलाई परेको फसाद

पूर्व प्रधानन्यायाधीस पराजुलीलाई टीका लगाइदिँदै राष्ट्रपति भण्डारी

पूर्व प्रधानन्यायाधीस पराजुलीलाई टीका लगाइदिँदै राष्ट्रपति भण्डारी


काठमाडौं । शुक्रबार (२ कार्तिक) का दिन अपरान्ह महाराजगञ्जस्थित निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र आफू सोफामा बसेर सर्वसाधारणहरुलाई जसरी टीका लगाइदिँदै थिए, निर्मल निवासभन्दा मुस्किलले ३ सय मीटर दुरीमा रहेको शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीले विशिष्ठ व्यक्तिहरुलाई टीका लगाइदिँदै गरेको दृष्य पनि यो भन्दा फरक थिएन ।
समाचार प्रदायक सरकारी एजेन्सी राष्ट्रिय समाचार समितिले प्रेसित गरेको तस्वीर हेर्दा के देखिन्छ भने, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा नेता तथा पूर्व गृहमन्त्री वामदेव गौतम, पूर्व प्रधानन्यायाधीस गोपाल पराजुली, पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री जस्ता विशिष्ठ व्यक्तिहरुले समेत राष्ट्रपतिका सामु कि एकदमै निहुरेर टीका ग्रहण गर्नुर्परे, कि घुँडा टेकेर ।

उपराष्ट्रपति नन्दबहादुर पुनलाई टीका लगाइदिँदै


यस्ता तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्चालहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी आलोचनाकी पात्र बनेकी छन् । टीका लगाउने बेला आफ्ना अगाडि निहुरेर वा घुँडा टेक्नुपर्ने परिस्थिति सिर्जना गरेर गणतन्त्रकी राष्ट्रपतिले भण्डारीले आफूलाई राजा–महाराजाभन्दा फरक चरित्र देखाउन नसकेको भन्दै सामाजिक सञ्जालमार्फत् गरिएको तीब्र आलोचना जारी छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराले भने घुँडा टेकेर वा निहुरेर राष्ट्रपतिबाट टीका ग्रहण गर्नुपरेको थिएन । राससले नै प्रेसित गरेको तस्वीरबाट के देखिन्छ भने, राष्ट्रपतिको आसनभन्दा अगाडि राखिएको कुर्सीमा बसेर उनीहरुले राष्ट्रपति भण्डारीबाट टीका ग्रहण गरेका थिए ।
तर, सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका निहुरेको र घुँडा टेकेर टीका ग्रहण गरेका तस्वीरका अगाडि ती तस्वीर छायाँमा परेका छन् । विजया दशमीको टीका कार्यक्रम भएको ४ दिन बितिसके पनि तिनै तस्वीर सामाजिक सञ्जालमा राखेर राष्ट्रपति भण्डारीको आलोचना गर्नेहरुको संख्या झन् बढ्दो छ । टीकालाई आधार बनाएर गरिएको राष्ट्रपति भण्डारीको आलोचनाका कारण राष्ट्रपति कार्यालय समेत हैरान छ ।

प्रम ओलीकी धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिँदै


उपराष्ट्रपति पुन, प्रम ओली, सभामुख महराले राष्ट्रपतिबाट टीका ग्रहण गर्दासम्म राष्ट्रपति भण्डारीका अगाडि राखिएका कुर्सी प्रधानसेनापति थापा, प्रहरी प्रमुख खनाल, पूर्व गृहमन्त्री गौतम र पूर्व प्रधानन्यायाधीस पराजुलीले टीका ग्रहण गर्ने बेला चाहिँ किन हटाइयो ? कुर्सी हटाइनुको कारण निकै रोचक रहेछ ।
टीका ग्रहणअघि र ग्रहण गरिसकेपछि दुबै पटक राष्ट्रपतिलाई सलाम गर्ने परम्पराका कारण केहीबेर अघिसम्म रहेका कुर्सी हटाइएको थियो । ‘सुरक्षा निकायले उच्च अधिकारीले टीका अघि र पछि राष्ट्रपतिलाई स्यालुट गर्छन्’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘यो परम्परा नै हो, त्यसैले उहाँहरुले टीका लगाउने समयमा कुर्सी हटाइएको थियो ।’

प्रधानसेनापति पूर्णचन्द्र थापालाई टीका लगाइदिँदै


जानकारी अनुसार, राष्ट्रपतिबाट टीका ग्रहण गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीस र राजनीतिक दलका शीर्ष नेताका लागि शुक्रबार दिउसो १–२ बजेको समय तोकिएको थियो । त्यसपछिको समय सुरक्षा निकायका अधिकारीहरुका लागि थियो । उनीहरुको टीका सकिएपछि फेरि अगाडि कुर्सी राखेर टीका लगाइदिने कार्यक्रम थियो ।
उपराष्ट्रपति पुन, प्रम ओली, सभामुख महरा लगायत विशिष्ठ व्यक्तिहरु निर्धारित १–२ बजेकै समयमा टीका ग्रहणका लागि शीतल निवास पुगे, राष्ट्रपति भण्डारीको सम्मुख राखिएको कुर्सीमा बसेर टीका ग्रहण गरे । तर, पूर्व उपप्रधान तथा गृहमन्त्री गौतम, पूर्व प्रधानन्यायाधीस पराजुली चाहिँ निर्धा्रित समयमा पुगेनन् । उनीहरु सुरक्षा निकायका अधिकारीहरुले टीका ग्रहण गर्ने बेला पुगेका थिए ।

वामदेव गौतमलाई टीका लगाइदिँदै

‘उहाँ (गौतम र पराजुली) आउनुभएका बेला सुरक्षा निकायका अधिकारीहरुलाई राष्ट्रपतिले टीका लगाइदिँदै हुनुहुन्थ्यो, त्यसैले राष्ट्रपतिको अगाडिपट्टि कुर्सी थिएन,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘जब पराजुली आउनु भयो, उहाँका लागि कुर्सी राखिदिन खोजिएको थियो, तर उहाँले म एकदमै हतारमा छु, टीका लगाएर हिँडिहाल्छु, कुर्सी राख्नु पर्दैन भन्नुभयो ।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई टीका लगाइदिँदै


गौतमका हकमा पनि त्यही भयो । उनले पनि आफ्ना लागि कुर्सी आवस्यक नरहेको बताए । फोटो पत्रकारहरुको क्यामरामा पराजुलीले घुँडा टेकेर र गौतमले निहुरेर टीका लगाएको तस्वीर सरकारी समाचार एजेन्सीबाटै सार्वजनिक भए । त्यस्तो परिस्थितिमा खिचिएका र सार्वजनिक गरिएका तस्वीरको ‘मूल्य’ चाहिँ राष्ट्रपति भण्डारीले बेहोर्नु परिरहेको छ ।

 

#नेपालखबर

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०१:४१