सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी संरक्षणमै बाँकेमा घुम्ती जुवा अखडा !

बाँके । चाडपर्वको समयमा प्रहरीको संरक्षणमा बाँकेमा व्यावसायिक रूपमा जुवा सञ्चालन भइरहेका छन् । गैरकानुनी रूपमा सञ्चालित जुवालाई स्थानीय प्रशासनको पनि मौन सहमति रहेको स्रोत बताउँछ । घुमुवा प्रहरीले जुवा सञ्चालन भएका स्थानमा सुरक्षाको जिम्मा लिएको स्रोत बताउँछ ।
प्रहरी संरक्षणमा ठूला ठूला घुम्ती जुवा अखडाहरू सञ्चालन भइरहेका छन् । घुमुवा प्रहरीको सेटिङ्गमा घुम्ती जुवा अखडाहरु सञ्चालनमा आइरहेका हुन् । बाँकेका राँझा नजिकका केही गाउँ, राधापुर, कोरियनपुर र भृकुटीनगरका केही टोलहरुमा गोप्यरुपमा जुवा अखडा सञ्चालनमा आइरहेका छन् ।
संगठित जुवाडेहरूले पकड भएका घुमुवालाई व्यक्तिगतरूपमै रकम पुर्याउने गरेको र सो रकम माथिल्लो तहसम्म पुग्ने स्रोतले बताएको छ । केही प्रहरी घुमुवा प्रहरीकै संरक्षण तथा योजनामा एक महिनादेखि निर्वाधरूपमा बाँकेका विभिन्न स्थानमा जुवा सञ्चालन भइरहे पनि प्रहरीले हालसम्म ती स्थानहरुमा छापा मार्न नसकेको स्थानीयहरुको गुनासो छ ।
जुवा अखडाहरु स्थायी भने हुँदैनन् । आज एक स्थानमा त भोली अर्को स्थानमा जुवा सञ्चालन गर्ने गरिन्छ । घुमुवा प्रहरीकै संरक्षणमा बाँकेमा जुवा अखडाहरु सञ्चालनमा आइरहेको स्रोतले बताएको छ । नेपालगन्जका ठूला तथा घरानिया परिवारका व्यक्तिहरु ती जुवा अखडामा जाने गरेको स्रोतको भनाई छ ।
जिल्ला अदालत बाँकेको फैसला कार्यान्वयन शाखामा कार्यरत प्रहरी जवान शशी शाहको संलग्नतामा राँझा क्षेत्रमा जुवा सञ्चालन भइरहेको रहस्य खुलेको छ । प्रहरी जवान शाह दरबन्दी रोल्पा भए पनि उनी पहुँचकै आधारमा बाँकेमा काजमा रहेका छन् । शाहकै योजनामा राँझा क्षेत्रमा जुवा सञ्चालन भइरहेको स्रोतले जनाएको छ ।
ती जुवा अखडाहरुमा लाखौं रकमको जुवा सञ्चालन हुने गरेको छ । भारतसँग सीमा जोडिएका सीमावर्ती शहरहरूबाट पनि जुवा खेल्न मानिस आउने गरेको स्रोतको दाबी छ । अबेर रातसम्म चल्ने यस जुवामा आपराधिक समूहका व्यक्ति पनि आउने गरेका छन् । स्रोत भन्छ, ‘सञ्चालकले कुनै अवरोधको खबर पाए स्थान परिवर्तन गर्ने गरेका छन् ।’
‘दैनिक लाखौँको हारजित हुने यस जुवालाई रोक्न प्रहरीले कुनै पहल नगरेकाले प्रहरीको संरक्षण रहेको पुष्टि हुन्छ,’ स्रोतले भन्यो । जिल्लाबाट प्रहरीले छापा मारेर जुवा बन्द गराउन खोजे त्यसको सूचना तत्काल जुवाडेसम्म पुग्ने पनि व्यवस्था मिलाइएको छ । प्रहरीको प्रत्यक्ष सञ्चालनमा आएका जुवा अखडाहरु रातदिन चल्ने गरेका छन् ।
प्रहरी र जुवा संचालकबीच पैसामा कुरा नमिल्दा भने त्यहाँ प्रहरी छापा मार्ने गरेको एक प्रहरीले बताए । जिल्ला प्रहरी प्रमुख एसपी अरूण पौडेल आफू समक्ष अहिलेसम्म यस्ता खालका उजुरी नआएको र उजुरी वा सुराकी आएको अवस्थामा प्रहरीले तत्काल सम्बन्धीत स्थानमा छापा मारेर कानूनी कारवाही गर्ने बताउँछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार ११:१५