सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सुविधाबाट पश्चिम सल्यानबासी बञ्चित

दुर्गा विसी । सल्यान । झट्ट हेर्दा लाग्छ, तल भेरी नदी देवस्थलको किनारमा अवस्थित यो ठुलै अस्पताल । यसको सेवा सुविधा पनि त्यही अनुसारको होला जस्तो । अर्कोतर्फ बनगाड कुपिण्डे नगरपालिका–५ मा रहेको मुलखोला, घाँजरीपिपल मैदुमा रहेको अस्पतालको सवै काम सम्पन्न भएर ठेकेदारले आफ्नो तर्फबाट अस्पताललाई भवन हस्तान्तरण गरिसकेको छ ।
यी ३ वटै छुट्टाछुटै स्थानमा रहेका आकर्षक र सुन्दर भवन भएका अस्पताल छन् । तर यी अस्पतालमा भरपर्दा काम र सेवा दिने कर्मचारी छैनन् । कर्मचारी विनाका यी भवनहरु विरामी आहोरदोहोर गर्दा हेरेर चित वुझाउने बाहेक अरु केही छैन । निमार्णको जिम्मा पाएका ठेकेदारहरुले काम सकेर भवन हस्तान्तरण गरेको वर्षांै वित्न थाल्यो ।
देवस्थल किनारको छेउमा पनि निकै सुन्दर अस्पताल छ । उक्त अस्पतालमा समेत सामान्य उपचार बाहेक अरु सेवा खासै देखिदैन । समान्य ज्वरो, प्रसूति, झाडापखाला वाहेक अरु उपचार हुँदैन । तर विरामी हेर्ने नत डाक्टर छ नत कोही सामान्य चिकित्सक नै । कति स्थानीयबासी त यस क्षेत्रका साविक गाविस देवस्थल, मुलखोला र घाँझरीमा ठुलै अस्पताल बन्न लागेकोमा हौसिएका पनि थिए । तर अस्पताल निर्माण कार्य सम्पन्न भई सेवाको सुरुवात नहुँदा सबैमा निराशा छाएको छ । देवस्थलकी कोकिला विष्ट भन्छिन्, ‘अव त जति ठुलो रोग लागे पनि यहि उपचार हुने भयो भनेका थियौं, तर त्यसो रहेनछ । यो अस्पताल त लगन विनाको पोते जस्तै पो लाग्यो ।’ अस्पतालबाट राम्रो औषधी उपचार नपाउँदा स्थानीय निजी मेडिकलहरुबाट औषधि किनेर खान बाध्य छन् । सरकारी अस्पतालहरुमा भने नत राम्रो काम गर्ने कर्माचारी छन् नत यिनले भरपर्दो सेवा दिन सकिरहेका छन् ।
‘घर मात्र वनाएर सरकारले के गर्ने ? अझ टाढाबाट हेर्ने हो भने ठुलै अस्पताल तर नजिक जाने हो र सबै कथा व्यथा सुन्ने, हेर्नै र बुझ्ने हो भने फरक पाइन्छ,’ अर्का स्थानीय कृष्ण विसी भन्छन् । भवन अनुसारको सेवा र कर्माचारी व्यवस्थापन गर्न सकिएमा यस क्षेत्रका नागरिकको ठुलै राहत हुने देखिन्छ । सरकारले ठुलै धनरासी खर्चेर भवन त वनायो तर नागरिकले समान्य सेवावाहेक अन्य उपचार गर्न सुर्खेत मेहलकुना, नेपालगन्ज जानुपर्ने बाध्यता छ ।
नगरको सदरमुकाम देवस्थलमा रहेको अस्पतालमा समेत अहेव र अनमीको भरमा अस्पतालले सेवा दिइरहेको छ । बनगाडमा सामान्य उपचार सल्लाहवाहेक यहाँका नागरिक रक्त जाँच, सादा एक्सरे गर्न सुर्खेत मेहलकुना अस्पतालमै पुग्ने गरेका छन् । नगरको मुख्य क्षेत्रमा रहेको अस्पतालमा अधिकृत स्तरको चिकित्सक समेत नहुँदा यहाँका नागरिकले सास्ती भोग्नुपरेको छ । आकर्षक भवन जस्तै सेवा सुविधा पनि आकर्षक भइदिए बनगाडका नागरिकलाई स्वास्थ्य सुविधाको राहत हुने थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार ०२:५४