सूचनाको शक्ति - The Power Of Information

        

पश्चिम नेपालको बरदान बन्दै क्यान्सर अस्पताल

बाँके । बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका क्यान्सरका विरामीहरुका लागि बरदानका रुपमा साबित हुँदैछ ।
भरतपुर क्यान्सर अस्पतालपछि सुबिधा सम्पन्न अस्पतालका रुपमा स्थापना भएको अस्पतालले आफ्नो सेवा सुरु गरेसँगै पश्चिम नेपालका क्यान्सरका विरामीहरुलाई चितवन र काठमाडौं पुग्नुपर्ने बाध्यतासमेत टरेको छ ।
अस्पतालमा साविकका मध्य तथा सुदूरपश्चिमका जिल्लाका विरामीहरु चाप बढेको छ । काठमाडौंमा ठुला अस्पताल सरहको प्रविधि र जनशक्तिसहित सञ्चालनमा आएपछि विरामीहरुलाई भक्तपुर, काठमाडौं, धरान र चितवन जानुपर्ने बाध्यता हटेको छ ।
पायक पर्ने ठाउमा अस्पताल सञ्चालनमा आएपछि विरामीहरुलाई सहज भएको छ । बैजनाथ गाउँपालिका–४, की रोइनीदेवी वली भन्छिन्, ‘क्यान्सरको शंका लागेपछि म भरतपुर अस्पतालमा पुगेर अप्रेसन गरें, यहाँ अस्पताल सञ्चालनमा आएपछि बाँकी उपचार यतै गरिरहेकी छु ।’
श्रीमतीको स्तनमा समस्या देखिएपछि क्यान्सर हुनसक्ने आशंकामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पुगेका कोहलपुर नगरपालिका–२, का धर्मराज श्रेष्ठले नजिकै अस्पताल हुँदा उपचारमा सहज भएको बताए । उनले भने, ‘चितवन, काठमाडौं जाँदा धेरै खर्च लाग्ने भएकाले हामीलाई यहाँ अस्पताल सञ्चालन हुँदा निकै सहज भएको छ । खर्च जोगिएको छ । घरबाटै अस्पतालसम्म आउन जान सहज भएको छ ।’ अस्पताललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन रु.८५ करोड अनुमान गरिएकोमा हाल रु.४० करोडको लागतमा पूर्वाधारहरु बनिसकेका छन् । असार ११ गतेदेखि अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको क्यान्सर अस्पताल साविकका मध्य तथा सुदूरपश्चिमका २२ जिल्लाका विरामीहरु आउने गर्छन् ।
अस्पतालबाट हालसम्म एक हजार बढीले सेवा लिइसकेको अस्पतालले जनाएको छ । अहिले पनि दैनिक ३० देखि ४० जनासम्म विरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा.विश्वराम पौडेलले बताए ।
‘मध्य तथा सुदूरपश्चिम क्षेत्रका विरामीहरुले सेवा लिएको तथ्यांक छ,’ अस्पतालका व्यवस्थापन अधिकृत बेदप्रकाश जोशीले भने, ‘हालसम्म एक हजार बढीले सेवा लिनुभएको छ । तीमध्ये ८ सय नयाँ विरामी रहनुभएको छ भने बाँकी नियमित चेकजाँचका क्रममा आइरहनुभएको छ ।’
अस्पतालले अहिले ओपिडीका साथै सिटी स्क्यान, रेडियोलोजी, किमोथेरापी, फार्मेसी, प्याथोलोजी लगायतका सेवा सुचारु गरिसकेको छ । विरामीको चाप अनुसार चाँडै अत्याधुनिक शल्यक्रिया वार्ड रेडियसन र डाइगोनोसिस सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक ल्याउने तयारी गरिरहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.पौडेलले भने, ‘हामीले प्रक्रिया सुरु गरिसकेका छौं । रेडियसन मेसिन राख्नका लागि भवन तयार भइसकेको छ । यो मेसिनको करिब रु.२२ करोड लागत पर्छ ।सक्दो चाँडो मेसिन ल्याउन पहल गरिरहेका छौं । यसबाट विरामीहरुको उपचारमा थप सहज हुनेछ ।’
१०० सय शैयाको स्वीकृति पाएको अस्पतालले ६० शैयाबाट उपचार सेवा सुरु गरेको छ । पूर्णरुपमा सेवा सञ्चालनका लागि कर्मचारी व्यवस्थापन, बजेट तथा विशेषज्ञ चिकित्सकसहित रेडियसन मेसिन तत्काल आवश्यक देखिएको अस्पताललका अध्यक्षसमेत रहेएका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
‘अस्पतालमा आउने गम्भीर प्रकृतिका बिरामीहरुलाई भरतपुर क्यान्सर अस्पतालमा रिफर गर्ने गरिएको छ,’ अध्यक्ष कक्षपतिले भने, ‘हामी चाँडै सबै प्रकारका सेवा दिनुपर्छ भनेर लागि रहेका छौं । अबको केही महिनामै रेडियोलोजी सेवा सञ्चालन गर्ने गरी काम गरिरहेका छौं । यो सेवा सुरु भएपछि क्यान्सरका विरामीहरुले यहीबाट सबै सेवा पाउने छन् ।’
अझै पनि ५,६ र ७ नं. प्रदेशका सर्वसाधारणहरु क्यान्सर रोगको उपचारका लागि भारतको लखनउ, काठमाडौं, भरतपुर जानुपर्ने बाध्यता विस्तारै कम हुँदै गएको छ । महङ्गो उपचार र टाढाको दुरी भएकै कारण कतिपय बिरामीहरुले अकालमै ज्यान गुमाउर्नु पर्ने बाधयताको समेत अन्त्य हुने अध्यक्ष कक्षपतिले बताए ।
अबको एक वर्षभित्र सबै सेवाहरु यहीबाट सुरु हुने अध्यक्ष कक्षपतिको दावी छ । अस्पताल निर्माणका लागि २०६५ सालमा स्थानीयहरुले खजुरामा महायज्ञ सञ्चालन गरेर ५ करोड बढि रकम संकलन गरेका थिए । महायज्ञबाट संकलित भएको रकमबाट हौंसिएका स्थानीयहरुले महायज्ञ सञ्चालन पश्चात नै अस्पताल बनाउन जुटेका हुन् ।
निर्माण सुरु भएको झण्डै १० बर्षपछि खजुराबासीहरुको सपना साकार भएसँगै मध्य तथा सुदूरपश्चिमका नागरिकहरुले सस्तो र सुलभ दरमा क्यान्सरको उपचार पाउने भएका छन् । स्थानीयको प्रयासमा निर्माण भैरहेको अस्पतालको स्वामित्व नेपाल सरकारले लिएपछि अस्पताल निर्माण कार्य अझै तीव्र गतिमा भइरहेको छ ।
चार बिघाहा क्षेत्रफलमा फैलिएको अस्पताल सञ्चालनमा आएपछि करिब २ सय स्थानीयले रोजगारी पाउने विश्वास गरिएको छ । उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वाससँगै सबै सेवाहरु खजुरामै पाइने भएपछि स्थानीयहरु पनि खुसी भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार ०८:००