काठमाडौं । बिहीबारदेखि भर्खर कार्तिक लाग्यो, ०७६ को बैशाख आउन अझै ६ महिना बाँकी छ । तर, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भने ०७६ बैशाखको अन्तिम साता कहिले आउला जस्तो भइसकेको छ । शहरिया केटाकेटीले आफ्नो जन्मदिन कहिले आउला भनेजस्तै २६ बैशाख ०७६ को तीब्र पर्खाइमा छन् प्रचण्ड ।
जब उनी निकटका आफन्तजन, त्यसमा पनि उमेर ढल्किसकेका बुढाबुढी भेट्छन्, ‘दीर्घायुको कामना’ गर्दै उनी २६ बैशाख ०७६ का लागि निम्ता दिइहाल्छन्, ‘त्यो दिन चाहिँ तपाईं जसरी पनि आउनुपर्छ है ।’ केही महिनाअघि प्रचण्ड काठमाडौंको टोखा पुगे, ८६ बर्षीय आफन्त केशव गौतमसँग आग्रह गरे, ‘मामा, त्यो दिन चाहिँ जसरी पनि तपाईं आउनैपर्छ है ।’
नातामा प्रचण्डपत्नी सीता दाहालका मामा हुन् केशव गौतम । ५० बर्षअघि, २०२६ प्रचण्ड र सीता दाहालको जोडी बाँध्न लमीको काम उनैले गरेका थिए । र, सीतासँग आफ्नो प्रणय सम्बन्ध गाँसिदिन भूमिका निर्वाह गरेका तिनै गौतमलाई त्यसदिन आफ्नो ‘दोस्रो विहे’को निम्तो निम्तो दिएर फर्किएका थिए प्रचण्ड ।
चितवन पटियानीकी तिनै सीता पौडेलसँग विहे भएको ५० बर्ष पुगेको अवसरमा आगामी २६ बैशाखमा फेरि विहे गर्न प्रचण्ड कस्सिएका हुन् । पारिवारिक स्रोतका अनुसार, आफ्नो विहेको ५० औँ वर्षगाँठका अवसरमा हुन लागेको कार्यक्रलाई प्रचण्डले सीतासँगको ‘दोस्रो विहे’ का रुपमा परिभाषित गरेका छन् ।
कुनै दम्पत्तिको विहे भएको ५० बर्ष पुगेको अवसर स्वर्ण महोत्सवका रुपमा भव्यरुपले मनाउने प्रचलन नेपालमा पनि व्याप्त भइसकेको छ । प्रचण्ड–सीताको विहे २६ बैशाख २०२६ मा भएको थियो । यस हिसावले आगामी २६ बैशाख (०७६) मा प्रचण्ड र सीताको विहे भएको ५० बर्ष पुग्छ ।
पारिवारिक स्रोतका अनुसार, प्रचण्डलाई उनको विहेको स्वर्ण महोत्सवलाई दोस्रो विहेका रुपमा मनाउन अरु कसैले सुझाव दिएका होइनन्, उनी आफैले यो योजना बनाएका हुन् । ‘यो ५० बर्षको बीचमा सीताले मलाई थुप्रै सहयोग गरेकी छन्,’ पारिवारिक सदस्यहरुसँग प्रचण्डले भन्ने गरेका छन्, ‘त्यसैले, ५० बर्ष पुगेको उपलक्ष्यमा फेरि सीतासँग मेरो दोस्रो विहे हुन्छ ।’
सीतासँग दोस्रो विहे गर्ने योजना प्रचण्डले एकमात्र छोरा प्रकाशको ३ मंसीर ०७४ मा निधन भएपछि बनाएका हुन् । चुनावी चटारोमा रहेका बेला जब प्रकाशको निधन भयो, सीता विव्हल बनिन् । उनलाई अनेक रोगले गाँज्दै लग्यो । अत्याधिक शोकका कारण नजिकका मान्छे पनि चिन्न छाडिन् । त्यसयता उनको मुहारमा खासै खुसी देखिएको छैन ।
अनेक हण्डर ठक्करका बाबजुद पत्नी सीताले आफूलाई गरेको सहयोगका कारण कृतज्ञ बनेका प्रचण्ड पत्नी सीताको यस्तो अवस्थाका कारण निकै चिन्तित छन् । तर, घरमूलीले नै चिन्ता देखायो भने पत्नी सीताको अवस्था त झन् नाजुक हुनसक्छ, बाँकी २ छोरी र अन्य पारिवारिक सदस्यहरुमाथि पनि तनाव बढ्न सक्छ भन्ने कुरामा उत्तिकै सचेत छन् ।
सीताको अवस्थामात्रै ठीक हुने हो भने प्रचण्ड परिवारमा खुसी पूर्ववतरुपमा फर्किन सक्छ । त्यसैले, प्रचण्ड सीताको हृदयमा जसरी हुन्छ, खुसी फर्काउने ध्याउन्नमा छन् । सीताले जे भन्छिन्, उनी टार्न सक्दैनन् । पार्टी एकताको काम थाती राखेर असार अन्तिमसाता सीताको उपचारका लागि सिङ्गापुरमा प्रचण्डले दुई हप्ता बिताउनुको कारण पनि यही थियो ।
दाम्पत्य जीवन सुरु भएको ५० बर्ष पुगेको उपलक्ष्यमा प्रचण्डले सीतासँग दोस्रो विहे गर्ने कार्यक्रम बनाउनुको प्रमुख उद्देश्य पनि उनको मुहारमा पुरानै खुसी हेर्नका लागि हो । ‘प्रचण्ड सीता खुसी भएको, मज्जासँग हाँसेको देख्न चाहन्छन्, सीतासँग दोस्रो पटक विहे कार्यक्रम राखियो भने त्यो खुसी र हाँसो फर्किन सक्छ भन्ने उनको आशा छ ।’
#नेपालखबर
।