सूचनाको शक्ति - The Power Of Information

        

कानून पढ्दै जनप्रतिनिधि

नीरज गौतम । नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर महेन्द्र बहुमुखी क्याम्पसमा कानून विषय अध्ययनका लागि भर्ना भएकी छन् । ‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानून जान्नैपर्ने भएकाले क्याम्पसमा एलएलबी अध्ययनका लागि भर्ना भएकी हुँ,’ उनले भनिन् । उपप्रमुख मगर मात्र होइन उक्त क्याम्पसमा एलएलबी अध्ययनका लागि अन्य जनप्रतिनिधि पनि भर्ना भएका छन् ।
कैलाली घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, पूर्वमन्त्री सर्वदेव ओझा, वडा अध्यक्षलगायत जनप्रतिनिधि अहिले उक्त क्याम्पसमा भर्ना भएका छन् । ‘नयाँ ऐन, कानून जान्नैपर्ने भएकाले कानूनको विषयमा पढन भर्ना हुन चाहेको हुँ,’ प्रवेश परीक्षा दिन आएका सल्यान क्याम्पसका प्राध्यापक मानबहादुर बीएमको भनाइ छ । दुई वर्षयता उक्त क्याम्पसमा एलएलबी विषय पढ्ने विद्यार्थीको संख्या अप्रत्यासित रुपमा बढेको छ ।
क्याम्पसमा करीब एक हजार ४०० भन्दा बढीले एलएलबी अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । ‘एलएलबी अध्ययनका लागि आवेदन दिनेमा अरु विषयमा स्नातक र स्नातकोत्तर गरिसकेकाकै संख्या बढी छ,’ निमित्त क्याम्पस प्रमुख निरञ्जन ज्ञवाली बताउछन् ।
विसं २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि थुप्रै कानून परिवर्तन भएका छन् । मुलकी ऐन (मुलकी सहिंता)समेत थुपै्र परिवर्तन गरिएको छ । मुलुकमा भएको कानूनी परिवर्तनसँगै कानून विषय पढनेको आकर्षण पनि ह्वात्तै बढेको छ । ‘शिक्षण पेशामा पनि नयाँ कानून जान्नैपर्ने भएकाले कानून विषय पढ्न भर्ना हुन चाहेको हुँ,’ एमबीएस र बीएड गरेका सुर्खेतका शिक्षक रणबहादुर खत्रीको कथन छ ।
उनीसँगै धनगढीका तेजबहादुर सिंहलगायत थुप्रै्र पेशाकर्मी एलएलबी पढन अग्रसर छन् । उक्त क्याम्पस पश्चिम क्षेत्र बुटवलपछिको सबैभन्दा पुरानो क्याम्पस हो । एलएलबी विषय बुटवलपछि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा मात्र अध्यापन हुँदै आएको छ । दुईवर्ष पहिले महेन्द्र बहुमुखी क्याम्पसमा ९३ विद्यार्थी मात्र एलएलबी विषय अध्ययनका लागि भर्ना भएका थिए भने अहिले ७९८ विद्यार्थी अध्ययनरत छन् ।
यो वर्षमा एलएलबी पढ्नका लागि उक्त क्याम्पसमा करीब एक हजार ४०० विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विशिष्ट ओहोदामा बसेका व्यक्तिलाई काम गर्न कानूनको बारेमा ज्ञान हुनुैपर्ने र राज्यको पुनःसंरचनासँगै कानून विषय पढेकाले रोजगारी पाउने सम्भावना देखिएकाले एलएलबी अध्ययनप्रति विद्यार्थी र पेशाकर्मीको आकर्षण बढ्दै गएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार ०१:३८