सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जमा बाघ बढेसँगै संरक्षणमा चुनौति

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बरले बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्यांक अनुसार बाघको संख्या २१ पुगेको छ । बाघको संख्या बढेसँगै बाघ संरक्षणमा चुनौति थपिएको छ ।
‘बाघको संख्या बढ्नु निकै राम्रो हो,’ बाँके राष्ट्रिय निकुञ्जमा प्रमूख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले भने, ‘बाघको संख्या बढेसँगै संरक्षणमा चुनौति थपिएको छ ।’ उनका अनुसार बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको वृद्धि हुनैपर्ने देखिन्छ ।
उनले भने, ‘बाघको संख्या जसरी बढिरहेको छ, त्यो अनुपातमा आहारा प्रजातिको संख्या बढेन भने संरक्षणमा ठूलो चुनौति देखिनेछ । त्यसैले पनि आहारा प्रजातिका जनावरहरुको संख्या बढाउनु नै हाम्रो प्राथमिकता हो ।’
बाँकेमा २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ दखिएको थिएन । २०१३ मा भएको दोस्रो बाघ गणनाका क्रममा ४ वटा बाघ देखिएका थिए । २०१८ मा भएको तेस्रो गणना अनुसार झण्डै पाँच गुणाले बाघको संख्या वृद्धि भई २१ पुगेको हो ।
एउटा बाघले एक बर्षमा औसतमा ६० वटासम्म शिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । ‘निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि बाघको वृद्धिदरलाई हेर्ने हो भने आहारा प्रजातिका वन्यजन्तुको संरक्षण गर्नैपर्ने देखिएको छ,’ प्रमूख संरक्षण अघिकृत पुर्जा पुनले भने ।
चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौति देखिएको छ । उनले भने, ‘निकुञ्जमा चोरी शिकार शुन्यजस्तै छ । तर वन्यजन्तुहरु निकुञ्ज बाहिर निस्किँदा केही चुनौति रहे पनि हामीले सचेतनामूलक अभियानहरु चलाएर न्यूनीकरणको प्रयास गरिरहेका छौं ।’
चित्तल, चौका, बँदेल, रतुवा लगायतका आहारा प्रजातिको वन्यजन्तुको संरक्षण जरुरी रहेको उनको भनाई छ । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धि लगायतका चुनौति रहेको बाँके निकुञ्जले जनाएको छ ।
जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्लेले बाघको संख्या बढेकोमा खुशी व्यक्त गर्दै भने, ‘बाघको आहारा प्रजातिका वन्यजन्तुको वृद्धि गर्नु अबको मुख्य काम हो ।’ ५५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा बाघको संख्यामा उत्साहपूर्ण वृद्धि भएको उनले बताए ।
संरक्षणकर्मी कृष्णलाल चौधरीले बाघको संख्या वृद्धि भएसँगै आहारा प्रजातिको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘बाघलाई जङ्गलमा सहजै शिकार गर्न सक्ने गरी आहारा प्रजातिको संख्यामा वृद्धि गर्नुपर्छ । त्यसो गर्न सकिएन भने संरक्षण चुनौतिपूर्ण छ ।’

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार १३:३९