सूचनाको शक्ति - The Power Of Information

        

उपभोक्ताको आकर्षण घरेलु उत्पादनमा

रेनुका गिरी । बुटवल । ढाका कपडा भनेपछि नेपाली पहिचानसँग जोडिएको छ । बेग्लै रुप, फेसन, आकर्षण र पार्टी तथा सेमिनारमा सामाजिक कार्यक्रम होस् अथवा जुनसुकै समारोहमा ढाकाको पहिरनले निकै चर्चा पाउने गरेको छ ।
मौलिकतासँगै जोडिएका कारण पनि ढाका कपडाको माग बढ्दै गएको व्यवसायी बताउँछन् । बुटवलमा लागेको राष्ट्रिय औधोगिक प्रद्धशनि तथा व्यापार मेलामा पनि ढाकाको विभिन्न कपडाले बजार लिएको छ । महिला उद्यमीको सीप, कलासँगै धेरैको रुचि ढाका कपडाको पहिरनमा छ । बालबालिकादेखि युवा पुस्ताका लागि विभिन्न पहिरन तयार भएको छ ।
संघर्ष ढाका उद्योगले २०६० सालबाट ढाकाको कपडा उत्पादनसँगै बिक्री वितरण गर्न थालेको पबिसरा रजाली ‘पूर्णिमा’ले बताइन् । मेलामा राखिएका स्टलहरुमध्ये प्युठानको लुङ्गमा रहेको कोठी हिमाल अल्लो कपडा उद्योगमा पनि अल्लोबाट बनेका कपडाहरुले पनि त्यतिकै बजार लिएको छ । नेपालको मध्य पहाडी भेगमा पाइने अल्लो प्रशोधन गरी त्यसको रेशाबाट कपडा तयार गरिन्छ ।
अल्लोको रेशाबाट उत्पादन हुने कपडा हलुका, टिकाउ र आकर्षक हुने भएकाले यसले कपडा पारखीहरुको मन पनि सहजै तान्ने गरेको उद्योगकी सञ्चालक चित्रकली बुढामगरले बताइन् । आफ्नो उद्योगमा अल्लोबाट जुत्ता, चप्पल, पर्स, टोपी, कोट, इस्टकोट, सल, ब्याग लगायतका ५० भन्दा बढी वस्तु बन्ने गरेको उनले बताइन् ।
२०६३ सालबाट सुरु भएको उद्योगमा पुंगा ,चाल्ने सिस्नु र भाङ्ग्रे्र सिस्नोको बोक्राबाट कच्चा पदार्थ तयार पारी व्यवसायिक रुपमा अल्लोको कपडा उत्पादन गर्दै आईरहेको चित्रकलाले बताइन् । स्थानीय प्रविधिवाट उत्पादित हुने भएकोले अल्लोको कपडा अन्य कपडा भन्दा महंगो पर्न जाने उनकोे भनाई छ ।
अल्लोको कपडा परापूर्व कालदेखि प्रयोग हुंदै आईरहेको भएपनि यस्को व्यवसायिक उत्पादन हुन नसक्दा करोडौं रुपैयाँ बर्षौदेखि खेर गइरहेकोमा अहिले गाउँगाउँमा घरमा तान लगाएर कपडा बुनेर जीविकोपार्जन गर्नेहरुको संख्या बढेको चित्रकलाका श्रीमान खिमबहादुर बुढा मगर बताउँछन् ।
उनले भनिन्, ‘हामीले ५÷६ जनालाई रोजगारी दिएर गाउँगाउँबाट ढाकाको टोपी, सल, कोट, कुर्ता, साडी जस्ता कपडा उत्पादन गरेका छौं ।’ यसबाट गृहणी मात्रै नभएर किशोरीहरु समेत आफ्नो खर्च जुटाउन सफल भएको उनको भनाइ छ । अल्लोका सामग्री नेपाली वजारमा भन्दा अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया लगायतका विकसित देशमा बढी निर्यात हुने गरेको व्यवसायीहरुको भनाई छ ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार ०७:१९