बाँके । एकिकृत राप्रपा राष्ट्रवादीका केन्द्रिय अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले अहिले प्रजातन्त्र र लोकतन्त्रमा बिश्वास राख्ने सबैले मिलेर कमनिष्ट अधिनायकवादबाट देशलाई जोगाउन लाग्नु पर्ने बताएका छन् । गठबन्धनको नाममा देशमा अधिनायकवाद लाद्ने षडयन्त्र भैरहेको जनाउँदै उनले सो षडयन्त्रलाई नेपाली जनताले असफल पार्ने बताए । एराप्रपा राष्ट्रवादी बाँकेले शनिवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले कमनीष्टहरुको डीएनएमै अधिनायकवाद रहेको उल्लेख गरे ।
एमाले र माओवादीले जति लोकतन्त्र र प्रजातन्त्रको कुरा गरेपनि उनिहरु कहिल्यैपनि प्रजातन्त्रवादी हुननसक्ने लोहनीको दावी थियो । देश र जनतालाई अधिनायकबादबाट जोगाउननै एराप्रपा राष्ट्रवादीले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सरोमोनियल राजसंस्था हुनुपर्ने एजेण्डालाई अगाडी सारेको उनले बताए । देशका सबै भाषाभाषी, जातजाती र धर्म सम्प्रदायलाई एकतावद्ध पार्ने परम्परागत शक्ति राजसंस्थानै भएकोले सो संस्थालाई सरोमोनियल र प्रधानमन्त्रीलाई कार्यकारी बनाउनुपर्ने अभियानमा आफुहरु लागेको अध्यक्ष लोहनीले जनाए ।
अहिलेको निर्वाचन संरचनानै गलत भएको उल्लेख गर्दै उनले यो निर्वाचन संरचना रहुन्जेल देशमा राजनितिक स्थिरता नआउने र कहिले पनि स्थिर सरकार नबन्ने दावी गरे । ‘विगतका केही बर्षबाट देशलाई आफ्नो जागिर सम्झेर केही सिमित दलहरुले भागवण्डा गरेर चलाउँदै आएका छन्,’ उनले भने, ‘संवैधानिक अंग र न्यायधिशजस्ता पदहरुमा समेत भागवण्डा गरिएको छ । सहमतिको नाममा हुँदै आएको भागवण्डाको राजनितिबाट देशलाई जोगाउन राजसंस्थाले सरोमोनियलका रुपमा अभिभावकको भूमिका खेल्नुपर्छ ।’ निर्वाचन प्रचार प्रसारको सिलसिलामा नेपालगन्ज आएका एराप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले शनिवारनै बाँकेको बैजापुरमा आयोजित जनसभालाई पनि सम्बोधन गरेका थिए ।
।