सूचनाको शक्ति - The Power Of Information

        

हिंसा न्यूनीकरण गर्न विद्यालयबाटै अभियान : सामाजिक विकासमन्त्री बराल

बुटवल । समाजमा महिला बालबालिकामाथि हुने हिंसा कम गर्न विद्यालयस्तरबाटै अभियान गर्नुपर्ने सामाजिक विकासमन्त्री सुर्दशन बरालले बताएका छन् । उनले समाजबाट नै महिला र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नका लागि लाग्नुपर्नेमा जोड दिए ।
सञ्चारिका समुहले शुक्रबार आयोजनामा गरेको महिला तथा बालबालिका माथि हुने हिंसा अन्त्यका लागि सञ्चारकर्मी महिलाको भूमिका विषय अन्तरक्रियामा मन्त्री बरालले धेरै महिला तथा बालबालिकामाथिका हिंसाहरु मदिराजन्य पदार्थका कारणले भएको भन्दै ५ नं प्रदेशमा दर्ता विनाका मदिरा पसलहरु बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
कार्यक्रममा पत्रकार महांसंघ प्रदेश पाँचका उपाध्यक्ष भरत केसीले महिला हिंसाका घटनाहरु पहाडी समुदायमा भन्दा मधेसी समुदायमा धेरै रहे पनि चेतनाको अभावले बाहिर आउन नसकेको बताए । उनले सञ्चारकर्मी महिलाहरुले लुकेका घटनालाई बाहिर ल्याउने खालका समाचार सम्प्रेरण गर्नुपर्ने बताए ।
पत्रकार महासंघ रुपन्देहीका सल्लाकार दिपक ज्ञवालीले महिलामाथि हुने हिंसा कम गर्न महिला र पुरुष दुबैको साथ बराबर हुनुपर्ने बताए । प्रेस चौतारीका केन्द्रिय सदस्य प्रदिप आचार्य, सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष पार्वती पाण्डे, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुषाल, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्की,े लगायतले बोलेका थिए ।
यसैबीच सञ्चारिका समुह प्रदेश ५ को शुक्रबार सम्पन्न अधिवेशनले कपिलवस्तुकी पत्रकार पार्वती पाण्डेको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रुपा गहतराज (बाँके) महासचिवमा अमृता अनमोल (रुपन्देही), सचिवमा माया केसी (रुपन्देही) र कोषाध्यक्षमा शान्ता खासु मगर (अर्घाखाची) चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रेनुका गिरी (रुपन्देही), मेनका चौधरी (बर्दिया), अनिता खत्री (गुल्मी), रन्जिता शर्मा (दाङ्ग), गिता ज्ञवाली (पाल्पा) लाई चयन गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०४:४१