सूचनाको शक्ति - The Power Of Information

        

बाढीपीडितका लागि निर्मित पूर्वाधार हस्तान्तरण

बाँके । बाढी पीडितका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा निर्माण गरिएका भौतिक संरचना हस्तान्तरण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–३ खैरहनीमा आयोजित कार्यक्रममा प्रमुख अतिथी एवम् युरोपियन युनियनका राजदुत भेरोनिका कोडी र सेभ द चिल्डे«नका कन्ट्री डाईरेक्टर नेड ओल्नेले राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै युरोपियन युनियनका राजदुत कोडीले बाढी पीडितलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारुले बाढीपीडितका लागि निर्मित सबै संरचना पीडितले नै उपयोग गर्ने बताए । गाउँपालिकाले यसका लागि वडा कार्यालयमार्फत स्थानीय बासिन्दाको जिम्मा लगाउने उनको भनाई छ ।
बाढी प्रभावित बालबालिका तथा तिनीहरुको परिवारलाई पुर्नलाभ कार्यक्रम अन्तर्गत युरोपियन युनियन र सेभ द चिल्डे«नको सहयोगमा ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस)ले बाढी पीडितका लागि राप्तीसोनारी–३ खैरहनी, वडा नं. ४ पशरामपुर र वडा नं. ५ ललहीमा सुरक्षित उच्च घरका साथै उच्च धारा, सौर्य पम्प लगायतका पूर्वाधार निर्माण गरेको थियो । सोही कार्यक्रममा रबर बोट लगायतका पूर्वाधार पनि हस्तान्तरण गरिएका छ । बाढी पीडितका घर पुनःनिर्माणमा सहयोग, डकर्मी तालिम, विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, उच्च धारा र चर्पी निर्माण तथा मर्मत, सिचाई तथा बाढीको रोकथाम, डिपिङ ट्याकी, सौर्य पम्प पनि सहयोग गरिएको थियो । राप्तीसोनारीको वडा नं. ३, ४ र ५ मा कुल रु.३ करोड ४७ लाख बराबरको पूर्वाधारहरु निर्माण गरिएको सेभ द चिल्डे«न मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालय नेपालगन्जका कम्युनिकेशन डकुमेन्टेशन एण्ड रिपोर्टिङ कोर्डिनेटर रचना श्रेष्ठले जानकारी दिइन् ।
उक्त कार्यक्रममा युरोपियन युनियनका कार्यक्रम अधिकृत पियुस कायस्थ, सेभ द चिल्डे«नका कार्यक्रम सञ्चालन तथा साझेदारी निर्देशक बिरेन्द्र ठगुन्ना, बेसका केन्द्रिय सदस्य संगिता चौधरी, बेस बाँकेका कार्यबाहक अध्यक्ष खगेश्वरी रावत, राप्तीसोनारीका विभिन्न वडाका वडाध्यक्ष, स्थानीय समाजसेवी, शिक्षक लगायतको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार ०१:०८