सूचनाको शक्ति - The Power Of Information

        

साढे २४ लाख क्षतिपूर्ति माग्दै प्राधिकरणविरुद मुद्दा

फाइल तस्वीर

बाँके । एउटै मन्त्रालय मातहतका सरकारी निकायबीचको द्वन्द्व बढ्दै गएपछि जिल्ला अदालत बाँकेमा लुटपाटको मुद्दासमेत दायर भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका नेपाल वायु सेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच द्वन्द्व बढेसँगै मुद्दा दायर भएको हो ।
नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्जका तत्कालिन निर्देशक प्रतापबाबु तिवारी र उड्डयन प्राधिकरणविरुद्ध नेपाल वायु सेवा निगम नेपालगन्जका प्रमुख मुक्तिराम पाण्डेले मुद्दा दायर गरेका छन् । तिवारी भने यहाँबाट सरुवा भएर हाल निगमको केन्द्रीय कार्यालयमा कार्यरत छन् ।
नेपालगन्ज विमानस्थल पसिरसरमा रहेको निगमको इन्जिनियरिङ युनिटको भवन गत असार १९ गते राती डोजर लगाएर उड्डयन कार्यालयले भत्काइदिएपछि सुरु भएको दुई निकायको विवाद अदालतसम्मै पुगेको छ । भवन भत्काइदिएपछि निगमका प्रमूख पाण्डेले उड्डयन कार्यालय प्रमूख तिवारीविरुद्ध मुद्दा दायर गरेका छन् ।
पाण्डेले दायर गरेको मुद्दामा भनिएको छ, ‘भवन भत्काउँदा निगमको रु.२४ लाख ४१ हजार ४७६ रुपैयाँ नोक्सान भएको छ, उक्त रकम क्षतिपूर्तिवापत तत्काल भराइपाउँ ।’ निगमले २०३५ सालमा निर्माण गरेको इन्जिनियरिङ युनिटको भवनमा आफूखुशी भत्काएको भन्दै उड्डयन कार्यालयसँग क्षतिपूर्ति माग गरेको हो ।
नेपालगन्ज विमानस्थल परिसरमा ३ कठ्ठा ३ धुरमा क्षेत्रफलमा निर्माण भएको इन्जिनियरिङ भवन हटाउन पटकपटक आग्रह गर्दा पनि निगमले नहटाएको जनाउँदै उड्डयन कार्यालयका निर्देशक तिवारीले डोजर लगाएर भत्काइदिएपछि निगमलाई हानी–नोक्सानी पुर्याएकाले क्षतिपूर्तिको माग गर्दै तिवारीमाथि लुटपाट मुद्दा दायर गरिएको निगमका नेपालगन्जका प्रमुख पाण्डेले बताए ।
उक्त भवन हालसम्म निगमले भोगचलन गर्दै आएको थियो । नागरिक उड्यन कार्यालयले विमानस्थलको स्तरोन्नति गरी यात्रु कक्ष र चमेनागृह बनाउन पुराना भवन हटाएको दावी गरेको छ । पुराना भवन हटाएर नयाँ भवन बनाउनुपर्ने आवश्यकता देखिएपछि निगमलाई पुरानो घर खाली गराइदिन बारम्बार आग्रह गर्दा पनि अटेर गरेकाले बाध्य भएर भत्काउनु परेको बताएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०८:०६