कृष्ण अधिकारी । नेपालगन्ज । दाइजो कम ल्याएको निहुँमा आफ्नै श्रीमान् र परिवारका सदस्यबाट जीउँदै जलाइएकी थिएन् नेपालगन्जकी २२ वर्षीया हास्रुन इद्रिसी । विवाह भएको ३ वर्षपछि रंगीन टेलिभिजन र ५० हजार रुपैयाँ दाइजो नल्याएको भन्दै जलाइएको थियो हास्रुनलाई ।
२०६४ साल कात्तिक २० गते हास्रुनलाई श्रीमान, सासु र नन्दले मट्टितेल खन्याएर आगो लगाए । आधा शरीर जलेकी हास्रुनको उपचारका लागि छिमेकी र आफन्तहले हारगुहार गरे । मृत्युसँग जुधिरहेकी हास्रुनलाई नेपालगन्जको भेरी अञ्चल अस्पतालमा भर्ना गरियो । नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाडौं लगियो ।
घरेलु हिंसाको सिकार भएकी हास्रुनलाई उपचार र राहतमा धेरैले सघाए । करिब ६ महिनाको उपचारपछि उनी आंशिकरुपमा निको भएर नेपालगन्ज फर्किन् । तर अशक्त र एउटा कुरुप जिन्दगी लिएर । २ वटा नाबालक छोरासहित उनी माइतीमा बसिन् । सहयोगी संस्थाहरुले माइतीमैं एउटा सानो पसल खोलिदिए । दुःख र कष्टका साथ उनका दिनहरु बित्दै गए ।
उनलाई निःशुल्क सिलाइकटाइ तालिम पनि दिइयो । जीविकोपार्जनका लागि केही सहयोग पनि पाइन् । तर, विस्तारै उनी बेसहारा बन्दै गइन् । संघसंस्थाले पनि कति सहयोग गरुन् । सधैं माइतीको सहारामा बस्न उनलाई मन लागेन । तर उनीसँग अर्काे कुनै विकल्प पनि त थिएन । हास्रुनलाई जलाएको अभियोगमा उनका श्रीमान् बसिम इद्रिसी जेलमा थिए ।
बाँके जिल्ला अदालतले श्रीमान् बसिमलाई ७ वर्ष र सासु रुक्सनालाई ५ वर्ष जेल सजाय गरेको थियो । जेल परेपछि बसिमले आफूबाट ठूलो गल्ती भएको महसुस गरे । जेलमा राम्रो व्यवहार देखाए । उनको आधा कैद मिनाह भयो । साढे तीन वर्षमै उनी छुटे । जेलबाट छुट्नासाथ बसिम श्रीमती हास्रुन र छोराछोरीलाई भेट्न ससुराली गए । आफूबाट गल्ती भएको स्वीकार्दै माफी मागे । र, सँगै बस्ने प्रस्ताव गरे ।
३३ वर्षीया हास्रुन भन्छिन्, ‘हातमुख जोर्नसमेत मुस्किल थियो, त्यस्तो बेला विगत बिर्सौं, सँगै बसौं भनेर उनी (श्रीमान्) आए । मैले नाइँ भन्न सकिनँ । श्रीमान्को प्रस्तावलाई मैले राम्रै माने । मान्छेले गल्ती गर्छ । गल्ती गरेपछि त्यसको सजाय पनि भोग्छ । ‘अब गल्ती गर्दिनँ, मलाई सुध्रिने मौका देऊ भनेपछि हुन्छ भनें । अहिले हामी सँगै बसेका छौं । अहिले सम्बन्ध राम्रो छ,’ उनले सुनाइन् ।
मुद्दाका पक्ष–विपक्ष भई अदालतबाट जेल सजायको फैसला भइसकेपछि धेरैका घरबार भताभुंग हुन्छन् । तर, बसिमले विगतप्रति पश्चात्ताप गरेर हास्रुन र छोराछोरी सम्हाले । हास्रुनले पनि आफूलाई जीउँदै जलाउने श्रीमानलाई माफी दिइन् । नेपालगन्जमा श्रीमानको घर र जग्गाजमिन नभएका कारण उनीहरु माइती नजिकै डेरा लिएर बस्दै आएका छन् ।
पारिवारिक जीवनको दोस्रो अध्याय अगाडि बढ्दै जाँदा उनीहरुको छोरा जन्मियो । उनीहरुले छोराको नाम मुस्तफा राखेका छन् । मुस्तफाको अर्थ हुन्छ, भगवानको प्रिय दूत । मुस्तफाको आगमनसँगै उनीहरुको परिवारमा खुसियाली थपिएको छ । जिन्दगी केही सहज बन्दै थियो, हास्रुनलाई फेरि अर्काे समस्या आइलाग्यो । सिलाइकटाइ गरेर परिवारको गुजारा चलाउँदै आएका श्रीमान् बसिन बिरामीले थला परे ।
अल्सर र हाडजोर्नी दुख्ने समस्याका कारण बसिन काम गर्न नसक्ने अवस्थामा पुगे । शरीर जलाइएका कारण अशक्त बनेकी हास्रुनले नै काम गरेर श्रीमान् र बच्चालाई पाल्नुपर्ने बाध्यता आइपर्यो । आफंै काम गरेर परिवार चलाउनुपर्ने बाध्यताले उनले आफ्नो थप उपचार गराउन सकिनन् । ‘दिनभरि काम नगरे साँझ चुल्हो नजल्ने अवस्थामा कसरी उपचार गराउने,’ उनले भनिन् ।
अहिले गाउँकै समाजसेवी निजामुद्दिन इद्रिसीको पहलमा हास्रुनले माइतीघर नजिकैको मदरसामा सहयोगीको जागिर पाएकी छिन् । दैनिक ४ घन्टा काम गरेर मासिक ४ हजार पारिश्रमिक पाउन थालेपछि हास्रुनलाई गुजारा चलाउन केही सहज भएको छ । उनी मदरसाबाट छुट्टी पाएपछि घरमै सिलाइकटाइको काम गर्छिन् । त्यसबाट आउने पैसाबाट जेनतेन उनको परिवार धानिएको छ ।
आफ्ना दुःख र दर्दका कथा सुनाउँदै हास्रुन भन्छिन्, ‘गुजारा चलाउन जेजति दुःख भए पनि अहिले पहिलेजस्तो दाइजोको निहु%A
।